
- राजु पौडेल
झापा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चुनावी सभाका लागी शनिबार देखि झापामा व्यस्त हुनुहुन्थ्यो । शनिबार दिउँसो बिर्तामोडमा आयोजित पूर्वाञ्चल स्वास्थ्य महोत्सव उद्घाटनमा विशिष्ट अतिथिको रुपमा सहभागी भएर अपरान्ह दमकमा आयोजित वामगठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नु भएको उहाँ राति बिर्तामोडस्थित बिएण्डसी अस्पतालको आवास गृहमा बास बस्नु भएको थियो ।
बिहान सवेरै ‘मनिङ्ग वाक’ निस्कने बेलामा परिवारका सदस्यले छोरा प्रकाशको अवस्थाका बारेमा जानकारी अध्यक्ष दाहाललाई गराएका थिए । छोराको मृत्युको खबर सुनेपछि दाहालले बि एण्ड सी अस्पताल कार्यकारी निर्देशक दुर्गा प्रसाईसँग सल्लाह गरेर हेलिकप्टरको व्यवस्थापन गर्न लगाउनु भएको थियो । हेलिकप्टरमा जाने निधो भएपछि सिम्रीक एयरको हेलिकप्टर तुरुन्तै व्यवस्थापन गरिएको अस्पतालको जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिनुभयो ।
दाहालपुत्र प्रकाशको निधनको खबर सुनेपछि दाहाल रहेको बि एण्ड सी अस्पतालमा बिहान सञ्चारकर्मी र वामगठबन्धनका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । हेलिकप्टर पर्खेर बस्नुभएका दाहाल निक्कै मलिन र भावुक देखिनुभएको थियो । उहाँ काठमाडौ. फकर्नुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्पताल परिसरमा नै पुगेर प्रकाशको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको थियो ।
दाहालले ओलीलाई काँकरभिट्टाका लागी पूर्व निर्धारित चुनावी सभालाई सम्बोधन गर्न भनेपछि ओली सोमबार मात्रै काठमाडौं जाने भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
प्रकाश दाहालको निधनको खबर सुनेपछि दाहाल पूर्वमा आयोजना गरिएको चुनावी कार्यक्रमलाई छोडेर छोरी गंगा र ज्वाई जीवन आचार्य तथा नातिनीसहित सिम्रीक एयरको हेलिकप्टरमार्फत् काठमाडौं फर्कनुभएको थियो । विहान ८ः४५ बजे काठमाडौंबाट आएको हेलिकप्टर ल्याण्ड भएको करिब ५ मिनेटमै दाहाललाई लिएर काठमाडौंका लागि उडेको थियो ।