
प्रकाश सिग्देल
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको निधनले चितवन पूरै स्तव्ध वनेको छ । प्रकाशको निधनपछि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन दुबैले चितवनमा आज तय गरेका चुनावका सबै कार्यक्रमहरु स्थगित गरेका छन् मंसिर ५ गते भरतपुरमा वाम गठबन्धनले गर्ने भनिभउको वृहत चुनावी सभा पनि स्थगित गरिएको छ ।
अध्यक्ष दाहालको गृह जिल्ला र चुनावी क्षेत्र भएकाले पनि प्रकाशको निधनसँगैं चितवनका सर्वसाधारण दुखित बनेका छन् । उनीहरुले अध्यक्ष दाहालमाथि आइपरेको यो दुःख अपुरणीय भएको भन्दै दिवंगत प्रकाशप्रति श्रद्धासुमन समेत व्यक्त गरेका छन् ।
चुनावी प्रचार अभियान भईरहँदा दाहालको निधनसँगै वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले आजको सबै चुनावी प्रचारका कार्यक्रम स्थगित गरेका छन् । वाम गठबन्धनले जिल्लाका तीन वटै क्षेत्रमा आज गर्ने भनिएका घरदैलो र चुनावी सभाका कार्यक्रम सबै स्थगित गरिएको माओवादी केन्द्र चितवनका इन्चार्ज ईश्वरी भट्टराईले जानकारी दिनुभयो । पार्टीका अध्यक्षका पुत्र दाहालको निधनले सिंगो देश शोकमा रहेको भन्दै जिल्लाका सबै कार्यक्रम स्थगित गरिएको उहाँले बताउनुभयो । वाम गठबन्धनले कात्तिक ५ गते भरतपुरमा गर्ने भनिएको बृहत चुनावी सभा पनि हालका लागि स्थगित गरिएको छ ।
सो सभालाई माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष दाहालसँग चुनावी प्रतिस्पर्धामा रहनु भएका लोकतान्त्रिक गठबन्धनका उम्मेदवार वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले दाहाल परिवारमा परेको पीडाप्रति आफू मर्माहत भएको भन्दै आज घरदैलो र चुनावी सभाका सबै कार्यक्रम स्थगित गर्नुभएको छ । पाण्डेको क्षेत्र नं. ३ अन्तर्गत भरतपुर महानगरपालिका वडा नं. २१को पार्वतीपुर र २६ को दिव्यनगरमा आज घरदैलो र चुनावीसभाका कार्यक्रम रहेका थिए ।
दाहालको निधनको खबर पाउनासाथ सबै कार्यक्रम स्थगित गरिएको उहाँले बताउनुभयो । दाहालको निधनसँगै भरतपुरमा रहनु भएकी दाहालकी दिदी भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल,भिनाजु अर्जुन पाठक सहित जिल्लाका माओवादी नेता र शुभेच्छुकहरु हेलिकप्टर र जहाज मार्फत् काठमाण्डौं जानु भएको छ । गृह जिल्ला भएकोले प्रकाश दाहाल पटक पटक एक्लै पनि चितवन आएर साथीभाईसंग भेटघाट गर्ने गर्नुहुन्थ्यो । निर्वाचनमा बुबा पुष्पकमल चितवन क्षेत्र नं. ३ बाट उम्मेदवार बनेपछि बुबासँगै धेरै समय यही रहेकाले पनि यहाँका आफ्नो र अन्य पार्टीका नेता कार्यकर्तासँग परिचित हुनुहुन्थ्यो । दाहाल चितवनको भरतपुर महानगरपालिका वडा नं. १४ भीमसेन नगरमा जन्मिनु भएको हो । उहाँको बाल्यकाल यही वितेको थियो । उहाँ अध्यक्ष पुष्पकमलका स्वकीय सचिव एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य हुनुहुन्थ्यो । द्वन्द्वकालमा भूमिगत रहेर बाबुसँगै उहाँले राजनीति गर्नुभएको थियो ।