
काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधन भएको छ, तर औपचारिक रुपमा पुष्टि हुन बाँकी छ ।
लाजिम्पाटस्थित निवासमा अचेत भएपछि उहाँलाई आइतबार बिहान काठमाडौंको थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई हृदयघात भएको हुनसक्ने आशंका गरिए पनि अस्पतालले आधिकारिक रुपमा केही बताएको छैन । अस्पतालले भर्ना गरिएको मात्र भनेको छ । छोरा अस्पताल भर्ना भएपछि प्रचण्ड झापाबाट हेलिकोप्टरमार्फत काठमाडौं आउँदै हुनुहुन्छ । त्यसैगरी चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।
सधैं प्रचण्डसँगै हिँड्ने गरेका उनी मलाई सन्चो छैन भनेर चितवनको चुनावी कार्यक्रमलाई बीचमै छाडेर काठमाडौं फर्किएका थिए । उनी प्रचण्डसँग गोरखा, बाग्लुङ, झापा लगायत स्थानका कार्यक्रममा गएका थिएनन् । उनी काठमाडौंमा आमासँग बसेका थिए ।
अस्पताल परिसरमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ । दाहालको निधनपछि नर्भिक अस्पतालमा पुगेका पत्नी सिर्जना त्रिपाठी र भाञ्जीहरू रोइरहेको कारूणिक दृश्य देखिएका छन् ।