- प्रदीपराज दाहाल
काठमाडौं । आसन्न निर्वाचनलाई नै असर पार्ने गरि हुन थालेको बिभिन्न घटनालाई लिएर प्रमुख दलका शीर्ष नेताहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् । प्रतिपक्षी दल एवं वाम गठबन्धनका नेताहरु घटनालाई लिएर सरकारप्रति आक्रमक बन्न थालेका छन् भने स्वयं सत्तारुढ दलका नेता तथा उम्मेद्वारहरु पनि धमाधम आक्रमणको निशाना बनिरहेका छन् । सबैको चासोको साझा विषय बन्नु पर्ने सुरक्षा व्यवस्थालाई लिएर प्रमुख दलहरुबीच आरोप प्रत्यारोप हुन थालेपछि निर्वाचन विथोल्न खोज्ने बल मिल्ने भय पनि सर्वसाधारणमा थपिन थालेको छ ।
प्रमुख दलका शीर्ष नेताहरु अहिले चुनावी दौडाहामा छन् । तर हरेक जस्तो चुनावी सभामा शीर्ष नेताहरुबीच लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनको नाममा घोचेपेच मात्र नभई देशका बिभिन्न भागमा घटन थालेको निर्वाचन विरोधी गतिविधिमा पनि जुहारी नै चल्न थालेको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसका उम्मेद्वाहरुमाथि निरन्तर भइरहेको आक्रमण निर्वाचन विथोल्ने षडयन्त्रकारीहरुको खेल भएको आरोप लगाउदै सुरक्षा दिन सरकार एक कदम पनि नचुक्ने बताउँदै आउनु भएको छ ।
यता एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन बिथोल्ने उद्देश्यले विभिन्न घटना भईरहदा समेत सरकारको क्रियाशीलता नबढेकोमा गुनासो व्यक्त गर्नुभयो । उहाँले निर्वाचनको सुरक्षा सम्बन्धमा सरकार फितलो भएको टिप्पणी गर्दै कामचलाउ सरकार भएका कारण राजीनामा नमागेको र शान्ति सुरक्षाको स्थिति सुदृढ बनाउन सरकार संग आग्रह गर्नुभयो ।
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार नै निर्वाचन वोथोल्न लागिपरेको आरोप लगाउनुभएको छ । उहाँले चुनावी प्रचारमा खटिएका माओवादी नेताहरुलाई लक्षित गरी वम विष्फोट गराउने र सवारी साधनमै आक्रमण गर्ने काम सरकारकै संरक्षणमै भइरहेको दावी गर्नुभयो । उहाले सरकारका मन्त्रीले नै हतियार सहित गिरफ्तार परेकालाई छाड्न निर्देशन दिनु र वक्तव्यवाजी गर्नु नै चुनाव विरोधी गतिविधिमा आफै लागेको स्पष्ट भएको वताउनुभयो ।
सुरक्षाको विषय सरकारको मात्र नभई सबैको साझा चिन्ताको विषय हो । अहिले माओवादीबाट अलग्गिएको एउटा समूह निर्वाचन भाड्न उद्दत छ भने अन्य अदृश्य शक्तिहरु पनि लागिपरेका छन् । सुरक्षाको विषयमा आरोप प्रत्यारोप भन्दा पनि एक ठाउँ उभिएर दलहरु र नेताहरुले प्रतिकारको शब्द बोल्न सके निर्वाचनको निश्चितता र निष्पक्षता बढ्ने पक्का छन् ।