२ मंसिर २०७४, शनिबार
  • आशिष केसी

सल्यान । सल्यानमा बन्ने भनिएको कोट विमानस्थलको योजना अलपत्र परेको छ । पर्यटकीय हिसाबले सल्यानलाई चिनाउन छिटो आवतजवातका लागि भन्दै सम्भाव्यता अध्ययन गरिसकेको कोट विमानस्थलको कहिले बन्ने भन्ने अझै अन्योल हुँदा सल्यानी जनताको विमानमा शयर गर्ने सपना सपनामा मात्रै सीमित बन्ने सम्भावना बढ्दै गएको छ ।

विगत केही दशक अघि देखि नै सल्यानमा विमानस्थलको अवधारणा अघि सारे पनि सल्यानका सरोकारवाला निकाय र राजनीतिक दलहरुले चासो नदिएका कारण कोट विमानस्थलको योजना सफल नभएको स्थानीयवासीको गुनासो छ । जिल्लाका सरोकारवाला निकाय र राजनीतिक दलहरुलाई स्थानीयवासीले निरन्तर घचघच्याई रहदाँ पनि विमानस्थल निर्माण हुन नसक्दा स्थानीयमा निराशा छाएको छ ।

जिल्लाको लक्ष्मीपुर स्थित कोटमा विमानस्थलका लागि उत्कृष्ट स्थल छनोट भए पनि त्यसको कुनै काम सुचार नभएरै ओझेलमा परेका थियो । सदरमुकाम खंलगाबाट करिब १ घण्टाको दुरीमा रहेका कोटमा सल्यानबाट पहिलो पटक मुलुकको प्रधानमन्त्री बनेका मरिचमान सिंह श्रेष्ठले यस ठाउँको भौगोलिक अवस्था, जग्गाको स्थिति, वातावरणको अनुकुलता लगायतका सबै पक्षको सर्वेक्षण गरेर ठाउँ योग्य रहेको प्रतिवेदन दिए पनि राजनीतिक परिवर्तनसंगै कोट विमानस्थलको योजना अलपत्र परेको हो । राजनीतिक दलहरुको हेलचेक्रयाई एवं उदासिनताका कारण विमानस्थल बन्न नसकेको गुनासो स्थानीयवासीको छ ।

पटक पटक विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गरे पनि भौगोलिक अवस्थाका कारण विमानस्थल बनाउन नसकेको भन्दै योजनालाई थाँती राख्ने र पुनः सम्भाव्यता अध्ययन गर्ने जस्ता कार्यशैली दोहोरिदा स्थानीय हैरान भएका छन् । विमानस्थल बन्न नसक्नुका कुनै निश्चित कारण नै नदेखाई बारम्बार झारा टार्ने कामहरु मात्र भइरहेको पनि स्थानीयवासीको गुनासो छ ।

जिल्लामा यातायातको छिटो र छरितो विमान सेवाको संचालन हुन नसक्दा जिल्लाका पर्यटकीय स्थल कोट भगवती, खैराबाङ भगवती, छाँयाक्षेत्र शक्तिपिठ, फालाबाङ दरबार, कुपिण्डे दह लगायतका स्थलमा पर्यटकहरुलाई आवत जवातमा समस्या हुने गरेको छ । सल्यानवासीले जिल्लाको समग्र विकासका लागि विमानस्थल बनाउन दलहरुलाई दबाब दिदै आएका छन् ।

 

LIVE TV