
रौतहटको चन्द्रपुरमा वाम गठबन्धनको भेलास्थलमा बम बिस्फोट भएको छ । बिस्फोटनमा परि ९ जना घाइते भएका छन् भने तीनको अवस्था गम्भीर छ ।
टाइम बम विस्फोट गराउँदा ३१ बर्षीया सरिता राई र ७ बर्षीय जैविक राई आमाछोरा गम्भीर घाइते भएका छन । उनीहरुको पेट, खुटा, कम्मरमा बढी चोट लागेको छ । यस्तै बिस्फोटनमा चन्द्रपुर ५ का ४५ बर्र्षीय लक्ष्मी राई पनि गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । गम्भीर घाईतेहरुको उपचारका लागि भरतपुर पठाईएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरिक्षक शान्ताराज कोईरालाले जानकारी दिनुभयो ।
बम बिफोटमा परि ५५ बर्षीय राम बहादुर बिक, ४८ बर्षीया कुन्ता खत्री, ३९ बर्षीय गोपाल बिक, ४५ बर्षीया दिलमाया राई,५० बर्षीया यमुना काफ्ले र चन्द्रनिगाहपुर सरकारी अस्पतालका पियन ४९ बर्षीय गजेन्द्र झा र परिचर लक्ष्मि राई पनि घाइते भएका छन । अन्य घाईतेको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भै रहेको प्रहरीले बताएको छ । घाइतेहरु सवै चन्द्रपुर ५ का रहेका छन ।
भेला सकेर बाहिर निस्कने क्रममा मन्दिरको अगाडि बम बिस्फोट भएको हो । घटनाको प्रकृति हेर्दा रिमोट बम हुन सक्ने प्रहरीले आशंका गरेको छ । बम बिष्फोट गर्ने समुहको खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । मन्दिरको हलमा बाम गठबन्धनले वडा नम्वर ५ को सयुतm भेला राखेको थियो । भेला सकेर बाहिर खाजा खाने तयारी गर्दै गर्दा बिस्फोट भएको बाम गठबन्धनका नेता उद्धव रेग्मीले जानकारी दिनुभयो ।
यसैबीच भोजपुरमा पनि वाम गठबन्धनको कार्यक्रमलाई लक्षित गरि बम विस्फोट गराइएको छ भने भोजपुरकै कुलुङ गाविसमा प्रहरी र अज्ञात समूहबीच गोली हानाहान भएको छ ।