- सुवास लामिछाने
पर्वत । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तालिका बनाएर प्रचार प्रसारमा निस्किएका पर्बतका विभिन्न दलका उम्मेदवार यतिबेला गाउँदेखि शहर बजारको दौडाहामा छन् । तर उनीहरु आफ्नो योजना र आश्वासन सुनाउन भन्दा पनि जनताको चाहना र माग सुन्नमा नै व्यस्त बन्नु परेको अवस्था छ । मतदाताको ठाडो प्रस्ताव छ , विकास गर्छौ भने मत दिन्छौ नभए फोस्रा आश्वासन नदेऊ ।
पर्वतमा सदरमुकाम कुस्मामा भन्दा गाउँघरमा चुनावी चहलपहल अहिले ह्वात्तै बढेको छ । दैनिकजसो हुने कोणसभा, घरदैलो, आमसभाजस्ता गतिविधिले गाउँमा चुनावी चहलपहल ह्वात्तै बढेको हो । जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दुईजना र प्रदेशसभा सदस्यका उम्मेदवार चारजनाले फरकफरक ठाउँमा गर्दै आएको कार्यक्रमले ग्रामीण क्षेत्रमा चुनावी रौनकता बढाएको छ ।
मतदाता एकैछिन् घरको काम थाँती राखेर उम्मेदवारका चुनावी एजेण्डा र उनीहरुका प्रतिबद्धता सुन्नका लागि सभामा आउने गरेका छन् । उम्मेदवार गाउँ पुग्दा मतदाताले आफ्ना समस्याको चाङ भिराउने गरेका छन् । उनीहरुले सडक, बिजुली, खानेपानी, सिँचाइ, स्वास्थ्य, शिक्षा, रोजगारी र कृषि क्षेत्रका समस्या समाधानका लागि विभिन्न योजना माग गर्ने गरेका छन् ।
मतदाताले आ–आफ्नो गाउँसम्म पुग्ने सडक कालोपत्र गर्न तथा बाह्रैमास सवारीसाधन चल्ने बनाउन उम्मेदवारसँग माग गरेका छन् । गाउँ अभियानमा जुटेका उम्मेदवारले मतदाताका योजना सुन्दै आफ्ना आश्वासन बाँडिरहेका छन् । आश्वासनलाई चुनाव जितेपछि कार्यान्वयनमा ल्याउनसकेमा मात्र मतदाताले परिवर्तनको अनुभूति गर्नसक्ने मतदाताहरुको विश्वास छ । अन्यथा जति सरकार र राजनीतिक नेतृत्व फेरिए पनि मतदाताका समस्या ज्यूँ का त्यूँ रहने उनीहरुको भनाई छ ।
पर्वतमा निर्वाचनको मनोनयन दर्ता भएसंगै कात्तिक २२ गतेदेखि राजनीतिक दलले चुनावी प्रचारप्रसार अभियान थालेका हुन् । जिल्लाका सात स्थानीय तहका ६१ वटै वडामा कार्यक्रम तय गरेर उम्मेदवारहरु अभियानमा जुटिरहेका छन् । काँग्रेस र एमालेले अहिले धेरै जसो वडामा आफ्नो कार्यक्रम सम्पन्न गरिसकेका छन् । उम्मेदवारले एक दिन एउटा वडामा कार्यक्रम र अर्को दिन घरदैलो कार्यक्रमको तालिका बनाएर प्रचार प्रसारमा जुटिरहेका छन् । ०००