२ मंसिर २०७४, शनिबार

कपिवलस्तु। चट्टान फोडेर पानी निकाल्न सफल भएपछि कपिलवस्तु शिवराज नगरपालिका–१, बनबासाका बासिन्दा खुसी भएका छन् ।

विगत चार महिनाको प्रयासपछि डिप बोरिङ पासभयो, अव हामी वर्षौंपछि बल्ल शुद्ध खानेपानी पायांै भन्दै बनबासाका बासिन्दा खुसी भएका हुन् ।

बनबासास्थित जागृति आधारभूत विद्यालय प्राङ्गणमा जमिनको सतहमुनि डिपबोरिङ जडान भएपछि सो विद्यालयका बालबालिका मात्र होइन, त्यहाँ रहेका ७० घरधुरीका बासिन्दा स्वच्छ खानेपानी पाएका हुन् । पूर्व–पश्चिम राजमार्ग विस्तारका क्रममा २०२८ सालतिर यो बस्तीको विस्तार भएको बताइएको छ ।

वर्षौंदेखि स्वच्छ खानेपानीको समस्या झेल्दै आएका बनबासाका बासिन्दा हालसम्म खोलाको धमिलो पानी खान बाध्य थिए । खोलाको दूषित पानी खाएका कारण अधिकाँश स्थानीयवासीलाई झाडापखाला जस्ता पानीजन्य रोगबाट पीडित हुनुपरेको थियो । खानेपानीकै समस्यालाई मध्यनजर गर्दै स्थानीय निकाय र गैरसरकारी संस्थाको पहलमा अहिले त्यहाँ शुद्ध खानेपानीको व्यवस्था भएको हो ।

कालिका स्वावलम्बन सामाजिक केन्द्र, शिवराज नगरपालिका, एकीकृत सुरही सामुदायिक वन र स्थानीयवासीको सहयोगमा कुल रु सात लाख २३ हजारको लागतमा डिप बोरिङ जडान कार्य सम्पन्न भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुनिलकुमार घिमिरेले जानकारी दिनुभयो ।

स्वच्छ खानेपानी खान पाउनेभएपछि स्थानीयवासीमा खुशीको सिमा छैन । सबै प्रफुल्ल मुद्रामा छन्, सबैको अनुहारमा छुट्टै चमक देखिन थालेको छ ।

स्कुलले बालबालिकालाई लक्षित गरी विद्यालय प्रांगणमै डिप बोरिङ जडान गरी स्वच्छ खानेपानीको व्यवस्था मिलाइएको छ । साथै खानेपानी संकलनका लागि विद्यालय भवनको उत्तरपट्टि ओभरहेड ट्यांकी स्थापनाको योजना पनि अघि सारिएको छ ।

शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले धारोबाट निस्किएको पहिलो पानी खाइ उद्घाटन गर्नुभयो भने त्यसपछि उहाँले ओभरहेड ट्यांकीको शिलन्यास पनि गर्नुभयो ।

सो अवसरमा नगरप्रमुख अधिकारीले सबैको सहयोग, सहकार्य र अथक प्रयासले मात्र यहाँ स्वच्छ खानेपानीको व्यवस्थापन गर्न सकिएको उल्लेख गर्दै अब यहाँका बासिन्दाले शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ भन्नुभयो ।

विसं २०४०÷४२ तिर आप्mनो पहलमा खानेपानीका लागि सहयोग जुटाएर सिमेन्टको सानो पानीट्यांकी निर्माण गराएको स्मरण गर्दै उहाँले झण्डै चार दशकपछि बनबासाका बासिन्दाले जमिनमुनिकै स्वच्छ मूलको पानी खान पाएकोमा आफूलाई गर्व महसुस भएको बताउनुभयो ।

नगरप्रमुख अधिकारीले आफू शिवपुर गाविस अध्यक्ष हुँदा २०५८ सालको गाउँपरिषद्को निर्णयबाट यस बस्तीमा जागृति प्राविको स्थापना गरिएको बताउँदै अहिले साना÷साना बालबालिका शिक्षाबाट वञ्चित हुनुपरेको छैन भन्नुभयो ।

“अहिले खानेपानीको व्यवस्था भयो, गाउँभरि खानेपानीको सुविधाको लागि अव छिट्टै ओभरहेड ट्यांकी तयार गर्नुपर्छ, विस्तारै बस्तीका घरघरसम्म खानेपानी धारा व्यवस्थाका लागि सबै एकजुट हुनुपर्छ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा ‘सेभ द चिल्ड्रेन’ स्वास्थ्य परियोजनाका संयोजक परमानन्द मण्डलले सबैको सहयोगले आज बनबासामा स्वच्छ खानेपानीको व्यवस्था हुँदा सबैको अनुहार हसिलो देखिएको बताउनुभयो ।

LIVE TV