२ मंसिर २०७४, शनिबार

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ का वामपन्थी गठबन्धनका साझा उम्मेदवार अनिल शर्माले आफू काठमाडौंका जनताको सेवक बन्न चाहेको बताएका छन् ।

चुनावी अभियानको क्रममा शर्माले आफ्ना प्रत्यासी नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह र भर्खरै पत्रकारीताबाट राजनीतिमा प्रवेश गरेका रविन्द्र मिश्रभन्दा आफूसँग विकासका भिजन तथा बामपन्थी दलको साझा उम्मेदार भएकोले काठमाडौं क्षेत्र नम्बर १ मा आफूले जित्ने दाबी गरे ।

आफूसँग विकासको भिजन भएको तथा युवाको भावना बुझ्ने माओवादी, एमालेलगायतका बामपन्थी गठबन्धनको साझा उम्मेदवार भएकोले आफू विजयी हुने विश्वास व्यक्त गरे ।

२०४८ सालमा मदन भण्डारी काठमाडौ क्षेत्र नम्बर १ बाट उठ्दा पनि कसैले पत्याएका थिएनन तर कृष्णप्रसाद भट्टराइलाई हराएको प्रसंग कोट्याउँदै शर्माले यो पटक बामगठबन्धनको साथले आफूले जित्ने निश्चित भइसकेको बताए ।

काठमाडौ क्षेत्र नम्बर १ का मतदाता सचेत रहेको उल्लेख गर्दै बामगठबन्धनका उम्मेदवार शर्माले सो क्षेत्रका मतदाता विकास, समृद्धि र राजनीतिक स्थायीत्व चाहेकोले आफूलाई विजयी गराउनेमा आफू विस्वस्त रहेको बताए ।

राजनीतिक स्थायित्व र समृद्ध नेपालको लागि बामगठबन्धन मिलेर पार्टी एकीकरण गर्ने लक्ष्यसाथ चुनावमा गएको भन्दै उनले काठमाडौं १ का जनतालाई मतदानको सदुपयोग गर्न आग्रह गरे ।

उनले काठमाडौ क्षेत्र नम्बर १ का जनताले व्यक्ति र पार्टीलाई नहेरी यसपाली बाम उम्मेदवारलाई भोट दिने बताए । विकल्पको राजनीतिको भविष्य नरहेको भन्दै शर्माले रविन्द्र मिश्रले बल्ल राजनीतिक सिक्दै गरेको टिप्पणी गरे ।

कुनै समय माओवादीका वरिष्ठ नेता समेत रहेका बाबुराम भट्टराई पनि विकल्पको राजनीतिको रुपमा अघि बढ्नुभएको स्मरण गर्दै शर्माले अहिले भट्टराईको साथमा कोही पनि नभएको र उहाँ एक किसिमले असफल नै साबित भइसकेको बताए ।

विकल्प भनेको एउटा पात्र र पार्टी भन्ने होइन शर्माले भने, ‘सबैको हितको लागि अघि बढ्नु विकल्प हो ।’ म काठमाडौ १ का जनताका लागि सेवक बन्छु । साँच्चिकै काठमाडौं १ का जनताको काम गर्ने प्रतिनीधि पात्र बन्ने छु शर्माले भने ।

काठमाडौंबासीका समस्यालाई नीतिनिर्माण गर्ने तहसम्म पु¥याउने भन्दै उनले काठमाडौका जनताको कामदार बन्ने उल्लेख गरे । त्यहाँका जनतालाई मन्त्री , प्रधानमन्त्री र अरु विकासे गफ चाहिएको छैन शर्माले भने, ‘काठमाडौंका जनतालाई धुलो धुवारहित काठमाडौं बनाउने मान्छे चाहिएको छ, काठमाडौंलाई हराभरा बनाउने व्यक्ति चाहिएको छ, त्यो म पुरा गरेर देखाउनेछु ।’

शर्माले धुलोधुवामुक्त काठमाडौं, विसादिमुक्त काठमाडौं, समृद्ध र शैक्षिक हब बनाउने लक्ष्य लिएको बताए । उनले बागमति र रुद्रमतिलाई हराभरा बनाई पौडी खेल्नसक्ने खालको बनाउने दाबी गरे ।

LIVE TV