
काठमाडौं । यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ११ दशमलव ९२ अंकले बढेर अन्तिम दिन बिहिवार १ हजार ४ सय ८९ दशमलव ०६ अंकमा पुगेको छ । यस साताको शुरुको दिनमा बढेको शेयर साताको अन्त्यमा गिरावट भएको छ ।
साताको पहिलो ३ दिन लगातार बढेको शेयर पछिल्लो दुई दिन दोहोरा अंकले घटेको थियो । यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ८० कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २९ हजार ३ सय ३० कारोबारबाट दुई अर्ब ९२ करोड पाँच लाख १५ हजार रुपैयाँ बराबरको ६८ लाख २७ हजार छ सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
कारोबार रकम गत साताको भन्दा १५ दशमलव ६ प्रतिशत बढी भएको हो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ११ दशमलव ९२ अंकले बढेर अन्तिम दिन १हजार ४ सय ८९ दशमलव ०६ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २ दशमलव ५८ अंकले बढेर ३१३ दशमलव १२ अंकमा आईपुगेको नेप्सेले जनाएको छ ।
यस साता कारोबार रकमको आधारमा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा प्रभु बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्याको आधारमा नेपाल ग्रामिण विकास बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।