
काठमाण्डौ । निर्वाचन आयोगले विद्यालय र शिक्षकहरुलाई जिम्मेवार बन्न आग्रह गरेको छ । चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग नरोकिएको भन्दै आयोगले दलहरु सहित विद्यालय र शिक्षकहरुलाई समेत जिम्मेवार बन्न आग्रह गरेको हो ।
निर्वाचन आयोगले राजनीतिक दलका साथै विद्यालय तथा शिक्षकहरुलाई जिम्मेवार बन्न आह्वान गरेको छ । आयोगले शिक्षा मन्त्रालय, विभाग र कार्यालयका एवं निजी तथा सरकारी विद्यालयका व्यवस्थापकहरुलाई आवश्यक कारबाही गर्न निर्देशन दिएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा बालबालिकाको प्रयोग भइरहेको भन्दै राष्ट्रिय मानव अघिकार आयोगले ध्यानाकर्षण गराएका बेला निर्वाचन आयोगले शिक्षा सम्बद्ध निकायको ध्यानाकर्षण गराएको हो । राजनीतिक दलहरुको आग्रहमा विद्यालय बन्द गर्ने, विद्यालय परिसरमा आमसभा गर्न अनुमति दिने र भीड बढाउन विद्यार्थीलाई जबरजस्ती लैजान दिने जस्ता आचारसंहिता उल्लंघनका थुप्रै घटना भएको निर्वाचन आयोगले जनाएको छ ।
विगतमा त्यस्तै दलीय प्रतिवद्धता भए पनि स्थानीय निर्वाचनमा झण्डै साढे ६ हजार बालबालिकाको प्रयोग भएको केन्द्रीय बालकल्याण समितिले जनाएको छ । जसमध्ये नेपाली कांग्रेसबाट ३० प्रतिशत, माओवादी केन्द्रबाट २७ प्रतिशत र एमालेबाट २६ प्रतिशत बालबालिकाको प्रयोग भएको उसले बताएको छ ।