२ मंसिर २०७४, शनिबार

दार्चुला । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले लोकतन्त्र मास्ने उद्देश्यले कम्युनिष्ट गठबन्धन निर्माण भएको आरोप लगाउनु भएको छ ।

सुदूरपश्चिमको विकट जिल्ला दार्चुलाको लाटिनाथमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवाले नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मिलेर बनेको गठबन्धन लोकतन्त्रमाथिको खतरा भएको बताउनुभयो । प्रधानमन्त्री देउवाले अगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रजातन्त्रको भविष्यका लागि महत्वपूर्ण खुट्किलो भएको उल्लेख गर्नुभयो । उहाँले २००७ सालमा राणा शासनको अन्त्य गरी लोकतन्त्रको नयाँ बिहानी ल्याएको नेपाली कांग्रेसले नेपाली जनतालाई यो देशको मालिक बनाएको र जनताको अधिकार खोस्न नदिने पनि बताउनुभयो । लोकतन्त्रमा नेपाली जनताले शान्तिको सास फेर्न पाइरहेको भन्दै प्रधानमन्त्री देउवाले कम्युनिष्टको एकताले देशलाई अधिनायकवाद तर्फ लैजाने खतरा बढेकोमा सचेत गराउनुभयो ।

प्रधानमन्त्रीले व्यास, अपि हिमाल, मार्मा र लेकम गाउपालिकालाई पिछडिएको क्षेत्रमा राखेर स्थानीय तहलाई सहुलियत दिइने समेत बताउनुभयो । संबोधनको क्रममा उहाँले कञ्चनपुरको ब्रहमदेवमण्डिदेखि दार्चुलाको तिंकरसम्म जोड्ने २ सय ९० किलोमिटरको महाकाली करीडोरलाई २ वर्ष भित्र पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

LIVE TV