
निमेन्द्र शाही
बाजुरा । बालअधिकारको चर्चा धेरै हुने गरेको छ । बाल अधिकारका विषयमा काठमाडौंका तारे होटलमा बहस र अन्तरक्रियाको कमी हुँदैन । तर, दूरदराज बाजुराका बालबालिका भने कामदारको रुपमा प्रयोग हुने गरेको डरलाग्दो सत्य छर्लङ्गिएको छ । ठूला शहरहरुमा बाजुराका बालबालिकालाई घरेलु कामदारको रुपमा राख्ने गरिएको एक तथ्यांकले देखाएको छ ।
बाजुरामा बालबालिका किनबेचसम्मको पीडा भोग्न बाध्य छन् भन्दा नमिठो लाग्न सक्छ । भविष्यका कर्णधारका रुपमा लिइने बालबालिकाको अधिकारका नाममा हुने अनेकौं कार्यक्रमलाई चुनौती दिंदै बाजुरामा पीडाको पहाड नै छ । राम्रो बिद्यालयमा पढाई दिने भन्दै गाउँका बालबालिका बिचौलियाले प्रलोभनमा पारेर लैजाने गरेको भेटिएको छ । गैमुल गाउँपालिका वडा नम्बर ४ मानकोटका ५५ बालबालिका राम्रो बिद्यालयमा पढाई दिने आशा देखाएर जिल्ला बाहिर घरेलु कामदारको रुपमा रहेका छन् । त्यस मध्येका सात बालबालिका सम्पर्कमा नै छैनन् । घरेलु कामदारका रुपमा धनगढी, नेपालगञ्ज, काठमाडौं, ललितपुर, भक्तपुर, गोरखा, चितवन, महेन्द्रनगर, बाजुरा लगायतका शहरहरुमा लैजाने गरेको भेटिएको छ । घरेलु कामदारका रुपमा लगिएका बालबालिकालाई खाना पकाउने, गाई बस्तु चराउँने, विभिन्न काम लगाउने मात्र होइन कतिपय यौनहिंसाको शिकार हुने गरेको पीडितहरु बताउँछन् ।
गैमुल गाउँपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष वीरेन्द्र रोकायाले कतिपय बालबालिका परिवारकै सम्पर्कमा नरहेको बताए ।
शिक्षा दिने प्रलोभनमा पारेर आफ्ना सन्तान लैजाने गरेको पीडित बालबालिकाका बाबुआमा बताउँछन् । पीडित एक बालिकाकी आमाले आफ्नो छोरीको बलात्कारको प्रयास समेत भएको पीडा पोखिन ।
जोशी जस्तै अन्य पीडित परिवार पनि आर्थिक अभाव झेल्न बाध्य भएका कारण प्रलोभनमा परेको पीडा पोख्छन् ।
ऐन कानूनले बाल श्रम गैरकानूनी कार्यका रुपमा राखेको छ । तर, बाजुराको पीडा दर्दनाक मात्र नभई डरलाग्दो पनि छ । राजधानीका तारे होटलमा कार्यक्रम गरेर मात्र होइन बाजुरा जस्तो विकट स्थानमा पुगेर त्यहाँको यथार्थ वस्तुस्थिति बुझ्न जरुरी छ ।