
अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान प्रहरीले शुक्रबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १९ जना तालिवान सम्बद्ध सशस्त्र लडाकूहरु मारिएको समाचार छ ।
प्रान्तीय प्रहरी प्रमुख अब्दुल रजाकले बार सो जानकारी दिनुभएको छ । कान्दाहार प्रान्तको शहर ए सफा जिल्लामा शुक्रबार बिहान सबेरै सीमा प्रहरी बलले यो कारबाही गरेको थियो ।
यस कारबाहीमा १२ तालिवान आतङ्ककारी घटनास्थलमा नै मारिनुका साथै अन्य छ घाइते भएका रजाकले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनुभएको छ ।
यस कारबाहीको क्रममा प्रहरीले तालिवानको हातहतियार समेत कब्जा गरेको बताइएको छ । उनीहरु लुकेर बसेको आश्रयस्थलमा यो कारबाही भएको थियो ।
यस क्षेत्रमा सक्रिय रहेका तालिवान आतंककारी समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् । तालिबानहरुले पछिल्लो समयमा कान्दाहार क्षेत्रमा आतङ्क मच्चाएको सूचनाको आधारमा यो कारबाही भएको समाचारमा जनाइएको छ ।
गतहप्तामात्र पनि तालिबानहरुले कान्दाहारको एक प्रहरी चौकीमा आक्रमण गरी कैयौं सुरक्षाकर्मीको ज्यान लिएका थिए । सो क्षेत्रमा अहिले प्रहरीले गस्ती बढाएको जनाएको छ ।