१ मंसिर २०७४, शुक्रबार

नेपाली काँग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं १ प्रतिनिधिसभा उम्मेदवार प्रकाशमान सिंहले वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीको संयोजकत्वमा एक हजार एक सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गर्नुभएको छ ।

कात्तिक २० गतेबाट नै चुनावी घरदैलो कार्यक्रम शुरु गरेको भए पनि नेता सिंहले आज मात्र निर्वाचन क्षेत्र नं १ मा व्यवस्थितरुपमा चुनावी प्रचार अभियान सञ्चालन गर्न लीलेन्द्र प्रधानलाई आर्थिक, प्राध्यापक चूडाराज उप्रेतीलाई बौद्धिक र नीरज कार्कीलाई युवा परिचालन समिति संयोजकको जिम्मेवारी दिनुभएको हो ।

उहाँले घरदैलोका क्रममा काठमाडौँको वडा २९ घट्टेकुलो मतदातासँग भेटघाट गर्नुभयो ।
नेता सिंहले यसअघिको समय संविधान जारी गर्नेक्रममा बितेकाले आफ्नो क्षेत्रको विकास निर्माणको काम अधुरो रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले संविधान जारी गर्नेक्रममा भूमिका निर्वाह गरे, अब आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माण काम गर्नुछ, आफ्नो क्षेत्रलाई नमूना क्षेत्र बनाउनलाई यहाँको मतदान चाहिएको छ ।”

अब देशलाई समृद्धिको बाटोमा लैजाने काम काँग्रेसले मात्र गर्नसक्ने भन्दै काँग्रेसबिना लोकतन्त्र अधुरो रहने बताउनुभयो ।

LIVE TV