१ मंसिर २०७४, शुक्रबार

 निर्वाचनको बेला मतदाता शिक्षा प्रशारण भइरहेकोले मंसिरभर ३५ च्यानल प्रशारण गर्न अनुमति

सूचना तथा संचार मन्त्रालयले मंसिरभरिका लागि एनालग प्रणालीबाट ३५ वटा टेलिभिजन च्यानल प्रशारण गर्न अनुमति दिएको छ । मतदाता शिक्षा प्रसारण भइरहेको भन्दै मंसिरभर अधिकतम ३५ वटा च्यानललाई एनालग प्रणालीमा प्रसारण गर्न अनुमति दिने निर्णय गरिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले निर्वाचनका मुखमा एकाएक केवल टीभीमा एनालग प्रणाली हटाएको थियो । नेपाल केबल टीभी महासंघसँग मन्त्रालयमा भएको छलफलपछि एनालग टीभी प्रसारण प्रविधिलाई डिजिटल रुपान्तरण गर्ने कार्यतालिका टीभी सेवा प्रदायक संघले सात दिनभित्र मन्त्रालयमा पेश गर्नसमेत निर्देशन दिएको छ ।

सरकारले राष्ट्रिय प्रसारण नियमावली, २०५२ (आठौँ संशोधन) को नियम ४ बमोजिम महानगरपालिका क्षेत्रमा गत वैशाख १५ गतेसम्म र उपमहानगरपालिका र नगरपालिका क्षेत्रमा यही कात्तिक १५ गतेसम्म एनालग प्रणालीमा प्रसारण भइरहेको टेलिभिजन प्रसारणलाई डिजिटल प्रणालीमा रूपान्तरण गरी सफा, स्पष्ट, गुणस्तरीय प्रसारण गर्न सम्बन्धित सबै संस्थालाई अनुरोध गरेको थियो । मन्त्रालयका अनुसार करिब आठ सय ५२ टिभी एनालग प्रणालीमा छन् । त्यसैगरी करिब २५ प्रतिशत डिजिटलाइजेशन भइसकेका छन् ।

LIVE TV