१ मंसिर २०७४, शुक्रबार

ललितपुरको महाँकाल गाउँपालिकाको औपचारिक पोशाकमा राष्ट्रिय पोशाक दौरा–सुरुवाल, टोपी र गुन्युचोली घोषणा गरिएको छ । महाँकाल गाउँपालिका र श्रद्धावान् नेपालद्वारा गोटीखेलमा बिहीबार आयोजित कार्यक्रममा उक्त घोषणा भएको हो ।

राष्ट्रिय पोशाक घोषणापछि अब गाउँमा हुने औपचारिक कार्यक्रममा अनिवार्य दौरा–सुरुवाल, टोपी र गुन्युचोली लगाउनुपर्नेछ । गाउँपालिकाले राष्ट्र र राष्ट्रियतालाई आत्मसात् गरी राष्ट्रको शान, पहिचानलाई जगेर्ना गर्न उक्त घोषणा गरिएको जनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै पूर्वप्रधानसेनापति रुक्मांगद कटवालले अरु गाउँपालिका र स्थानीय तहले पनि राष्ट्रियता जर्गेना गर्न आवश्यक रहेको बताउनुभयो ।

मुलुकको सिंगो पहिचान र राष्ट्रियता बोकेको पोसाक दौरा–सुरुवाल, टोपी र गुन्युचोलीलाई संरक्षण गर्दै यस गाउँपालिकाका सम्पूर्ण पदाधिकारीहरूले जाति, धर्म र क्षेत्रभन्दा माथि उठी बिहीबार अनिवार्य रूपमा राष्ट्रिय पोशाक लगाउने तथा संरक्षण गर्ने घोषणा पत्रमा उल्लेख छ । महाँकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले धेरै समयको प्रयासपछि महाँकाललाई राष्ट्रिय पोशाक घोषणा गर्ने अवसर मिलेको बताउँनु भयो ।

श्रद्धावान् नेपालका अध्यक्ष राजानन्द माडव्यले मुलुकको इतिहास र पहिचान बोकेको राष्ट्रिय पोसाक दौरा–सुरुवाल, टोपी र गुन्युचोली पुर्खाहरूको वीरताको चिनो भएको बताउँदै यो अभियानलाई देशव्यापी बनाउँने जानकारी दिनुभयो ।

LIVE TV