
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७४ केन्द्रीय परिचालन समितिका संयोजक बालकृष्ण खाँणले नेपालको राष्ट्रियतालाई कमजोर पार्ने काम कम्युनिष्टहरुले नै भइरहेको आरोप लगाउनु भएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय मिडिया सेन्टरद्धारा शुक्रबार ललितपुरमा आयोजित विचार निर्माता बुद्धिजीवीहरुसंगको भेटघाट कार्यक्रममा नेता खाँणले राष्ट्रको एक भूभागमा बस्ने नागरिकलाई अपमानित गर्ने, उनीहरुलाई लाञ्छना लगाउने र विदेशीसंग जोडेर भड्काउदा राष्ट्र बलियो नहुने बताउनु भयो ।
नेता खाँणले यस्तो भौगोलिक, जातीय,संस्कृति र धार्मिक विविधता बोकेको मुलुकमा सबैलाई समेट्दा नै राष्ट्रियता बलिया हुने विचार व्यक्त गर्नुभयो । उहाँले कांग्रेस नेता खाँणले अतिवादी सोच र व्यवहारले मुलुकलाई विखण्डनतिर डो¥याउने उत्तिकै खतरा रहेको बताउदै पार्टीको स्थापनाकालदेखि नै मुलुकको विविधतालाई समेटर सबैलाई जोड्ने कांग्रेसको राष्ट्रियता प्रेम सबैभन्दा बढी भएको बताउनुभयो ।
उहाँले नेपाली कांग्रेसले देशको कुनैपनि भूभाग वा जात जाति वा आदिवासी जनताले उठाएको मुद्दालाई संकीर्ण दायराबाट नहेरी राष्ट्रिय विषय बनाएर समाधान खोज्ने गरेको पनि बताउनुभयो । उहाँले मधेशका जनताले सीमाक्षेत्रमा विभिन्न कष्ट सहेर राष्ट्रको सीमा र भूमिको रक्षा गरिहेको पनि दावी गर्नुभयो । कार्यक्रममा प्राध्यापक केशवानन्द गिरी, डा.लोक भट्टराई, प्राध्यापक डा गोविन्दमान सिंह कार्की, पूर्व प्रशासक तथा लेखक जैनेन्द्र जीवनले नेपाली, डा. उद्धव प्याकुरेल, पूर्व राजदूत डा. जयराज आचार्य, राजनीतिक विश्लेषक पुरञ्जन आचार्य, प्रा देव कुमारी गुरुङ् र प्राध्यापक पञ्चनारायण महर्जन लगायतले कम्युनिष्ट अधिनायकबादका विरुद्धमा जनमत सिर्जना गर्न कांग्रेसलाई सहज भएको बताउनुभएको थियो ।