
- कबिन्द्र शेर्मा
पाँचथर । पाँचथरमा आसन्न प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य निर्बाचनको माहौल तातिएको छ । निर्वाचन नजिकिदै गर्दा सुरक्षा निकायले सुरक्षा ब्यबस्थालाई समेत मजबुत बनाएको छ ।
उम्मेद्वारहरु यतिखेर मत माग्दै गाउँघर, वस्तीमा अभियानमा नै लागिपरेका छन् । पाँचथरमा चुनावी वातावरण शान्तिपूर्ण रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । शान्तिपूर्णरुपमा निर्वाचन गराउन मतदान केन्द्र सुरक्षार्थ म्यादी प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी दुई हजार सात सय ५२ जना र बाहिरी घेरा सुरक्षार्थ नेपाली सेनालाई खटाइएको प्रहरी नायब उपरीक्षक बामदेव गौतमको भनाइ छ ।
पाँचथरको एक नगरपालिका ७ वटा गाउँपालिकासहित ६० वटा वडामा एक सय ६५ मतदान केन्द्र तोकिएका छन् भने पाँचथरमा एक लाख २५ हजार २ सय १९ मतदाता छन् । निर्वाचन कार्यालय र सुरक्षा निकायले राजनीतिक दल, नागरिक समाज समेतको सहकार्यमा सुरक्षा व्यवस्था सुदृढ बनाएको जनाएको छ ।
भयरहित वातावरणमा निर्बाचन सम्पन्न गर्न जिल्लामा निर्वाचन बिरोधी गतिबिधि गरेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । निर्बाचन अवधिमा भरुवा बन्दुक, टोटा जस्ता २० थान हातहतियार प्रहरीले नियन्त्रणमा लिएको छ ।