१ मंसिर २०७४, शुक्रबार
  • बसन्त लिम्बू

ताप्लेजुङ । ठेकेदारले सम्झौता अनुसार काम गरेको भए ताप्लेजुङको दोभानस्थित तमोर नदीमा चार वर्षअघि नै पुल बनिसक्थ्यो । तर, ठेकेदारको लापरवाहीका कारण सम्झौता भएको आठ वर्षसम्म पनि पुल निर्माण हुन सकेको छैन । २०७० चैतमा सम्झौताको अवधि सकिए यता ठेकेदार कम्पनीले तीनपटक म्याद थप गराएको छ । ठेकेदारले काममा ढिलासुस्ती गरे पनि सरकारी निकायले ताकेता नगर्नुले धेरै प्रश्नहरु जन्माएका छन् ।

सडक डिभिजन कार्यालयले ठेकेदारको कुरा सुनेर म्याद थप गर्ने र समस्या देखाएर पन्छिने ठेकेदारका कारण बजेट भए पनि पुल बन्न नसकेको प्रष्ट छ । १० करोड लागतमा निर्माण गर्ने गरी २०६६ सालमा कन्काई, मैनाचुली र याक्थुङहाङ गरी तीन कम्पनीले सडक डिभिजन कार्यालय इलामसँग सम्झौता गरेका थिए ।

सम्झौता भएको ८ वर्ष सम्म पनि पुल नवन्दा अहिले दोभान बजारको वारिसम्म ट्रक, बस तथा ट्याक्सी पुग्छन् । पुलवारि सामान झारेर भरियालाई बोकाएर पारि लैजानुपर्छ । पुल तार्दा ५० किलोको बोरालाई ३० र खुद्रा सामान एक रुपैयाँ किलो ढुवानी खर्च लाग्छ । गत वर्ष पनि ठेकेदारले वर्षायाम सुरु भएपछि काम थालेका थिए । तर, ९० प्रतिशत काम सकिएपछि साउन १ गते बिहान बाढीले बगाएको थियो । बर्खा लागेपछि खोलो बढ्ने हुँदा काम रोक्न आग्रह गर्दागर्दै पनि अटेर गरेका कारण पुल बगाएको स्थानीयको दाबी छ ।

चीन र भारतलाई छोटो दूरीमा जोड्ने निर्माणाधीन तमोर करिडोर पनि यहीं पुल हुँदै जान्छ । तेह्रथुम, संखुवासभा हुँदै धनकुटा, धरान र विराटनगरलगायत पूर्वका प्रमुख शहरसँग ताप्लेजुङको सम्बन्ध जोड्ने यो पुललाई स्थानीयवासीले विकासको मुख्य खुड्किलोका रूपमा लिएका छन् । यता सो पुल हेर्ने सरकारी निकाय उत्तर दक्षिण सडक योजना कार्यालय ताप्लेजुङले पनि ठेकेदारकै कारण पूल निर्माण कार्य ढिलो भएको बताउँदै आएको छ ।

इञ्जिनियर नेपालीले आठ वर्ष अघिको स्टेटमेन्टको आधारमा ठेकेदार कम्पनीले काम गर्नु पर्ने भएकाले पनि उस्का लागि यो नै ठूलो कारवाही भएको वताउछन् । पुल निमार्णका लागि अहिले काम सुरु भएको समेत दावी छ । पूल निमार्णका लागि चाहिने सामग्रीहरु उत्पादन भै रहेको र केहि दिनमै सो पूल निमार्ण कार्य सुरु भई आगामी चैत्र मसान्त भित्रमा पुल निर्माण भैसक्ने तर यो बर्ष पनि पूल निमार्ण नभए ठेक्का तोडिने इञ्जिनियर नेपालीको भनाई छ ।

ताप्लेजुङको विकासको मुख्य खुड्किलोका रूपमा लिईएको यो पुल निमार्णमा देखाइएको उदासिनताले आम ताप्लेजुङवासी आश्चर्यमा पर्दै आएका छन् ।

LIVE TV