
काठमाडौं । रोल्पामा माओवादी केन्द्रका नेताहरु लगाएत सभामुख ओनसरी घर्ती मगरलाई लक्षित गरी बम प्रहार भएको छ । सभामुख घर्ती र माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा र बर्षमान पुन चढेको गाडीलाई लक्षित गरी दुर्इवटा बम प्रहार भएको हो ।
उनीहरू फरकफरक गाडीमा सवार थिए । घटनामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । उनीहरू सुलिचौरबाट लिवाङका लागि प्रहरी स्कटिङमा लिवाङ जाँदै थिए ।
लिवाङमा वाम गठबन्धनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न जाँदै गर्दा लिवाङ र सादोबाटोको बीचमा पर्ने भदौरे जंगलबाट बम प्रहार भएको हो ।
उपराष्ट्रपति नन्दबहादुर पुनका प्रेस संयोजक मनोज घर्ती मगरलृ दिएका जाकारी अनुसार भदौरे जंगलको भीरबाट नेताहरुको गाडी भन्दा १० मिटर अगाडि बम प्रहार भएको थियो ।
बम प्रहार भए लगत्तै प्रहरीले भदौरे भीरमा घेरा हालेर बम प्रहार गर्ने अज्ञात समूहको खोजी गरिरहेको छ । महरा कार्यक्रममा सहभागी हुन दाङबाट रोल्पा आएका हुन भने रोल्पा प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका वर्षमान र सभामुख ओनसरी रोल्पामै थिए ।
सभामुख घर्ती लगायत बर्षमान र महरा कार्यक्रम आयोजना गरिएको लिवाङमा पुगिसकेका छन् । लिवाङ पुगेपछि नेता महराले बम आक्रमण हुनु अराजनीतिक भएको प्रतिक्रिया दिएका छन् ।