
काठमाडौं । मोबाइलमा व्याट्री सकिने समस्याले पिरोलिनु भएको छ भने अब सगुनले यो समस्या समाधानका लागि नयाँ उपहार ल्याउने भएको छ । सगुनको योजना सफल मोबाइल रिचार्ज गर्न बिजुली नै चाहिने बाध्यताबाट मुक्त हुन सकिने भएको छ । मोवाइलमा रहेको एप्लिकेसन्स (एप) चलाउँदा मोवाइल आफैं चार्ज हुने दिन आउन धेरै टाढा छैन । त्यस्तो एप बनाउँदै छ नेपालीले स्थापना गरेको कम्पनी सगुन इंकले ।
नेपालीले अमेरिकामा स्थापना गरेको सोसियल इकमर्स कम्पनी सगुन इंकले भारतकै प्रतिष्ठित इन्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजी (आआइटी) विश्वविद्यालयसँग मिलेर मोवाइल चार्ज गर्ने एप डेभलपमेन्ट गर्दैछ । अमेरिकी शेयर बजारमा मिनी आइपीओ जारी गरेर चर्चामा आएको सगुनका संस्थापक अमेरिकाको सरकारी सुरक्षा निकाय पेन्टागनमा सिस्टम इन्जिनियरका रुपमा काम गरेका नेपाली गोविन्द गिरी हुन् ।
मोवाइल एपलाई चार्जरका रुपमा विकास गर्न सगुनको दिल्लीस्थित कार्यालयमा ४० भन्दा बढीको संख्यामा आइटी इन्जिनियर खटिइरहेका छन् । उनीहरु एउटा नेपालीले विश्व बजारमा तरंग ल्याउने सपनालाई साकार पार्न दिनरात खटिएका छन् । नेपाली लगानीकर्ता संस्थापक रहेको पहिलो कम्पनीले आफ्ना महत्वकांक्षी योजना कार्यान्वयन गर्न भारतको सरकारी निकायसँग सहकार्य गर्दै आएको छ ।
प्राविधिक जनशक्ति उत्पादनमा कहलिएको इण्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) ले प्रविधिको क्षेत्रमा विकास र अनुसन्धान गर्न सगुनसँग पाँचबर्षे कार्ययोजनामा सम्झौता गरिसकेको छ। ब्याट्री रिचार्ज गर्ने सगुनको परियोजनामा आइआइटीले सगुनलाई जनशक्ति, आर्थिक र प्राविधिक रुपमा सघाउने सहमतिपत्रमा उल्लेख छ ।
आइआइटी जनशक्ति उत्पादनमा संसारमै नाम कमाएको प्रतिष्ठान हो । आइआइटीका प्रोफेसर डा. निलाद्री चटर्जी सगुनले अनुसन्धान गरिरहेका परियोजनाले विश्व बजारलाई राम्रैगरी प्रभाव पार्ने बताउँछन् । उनी सगुनले अगाडि सारेका ब्याट्री रिचार्ज लगायतका परियोजनालाई सफल बनाउन आफ्नो संस्थाले प्राथमिकता दिएर सहकार्य गरेको बताउँछन् । उनका अनुसार आगामी ५ बर्ष सगुनसँग आइआइटीको सहकार्य हुने सम्झौता भइसकेको छ ।