
१ मंसिर, दोहा । कतार श्रम मन्त्रालयले पहिलोपटक विदेशी कामदारका लागि न्यूनतम मासिक तलब तोकेको छ ।
आप्रवासी कामदारमाथि शोषण भएको भन्दै विभिन्न मानव अधिकारवादी संस्थाहरुले आलोचना गरिरहेका बेला कतारको श्रम मन्त्रालयले पहिलोपटक मासिक न्यूनतम तलब ७ सय ५० रियाल (झण्डै २ सय अमेरिकी डलर) तोकेको हो ।
कतारी श्रममन्त्री इसा अल नउमीको भनाई उदृत गर्दै एपीएफले लेखेको छ, ‘यदि कुनै पनि रोजगार सम्झौतामा विदेशी कामदारको तलव ७ सय ५० भन्दा कम छ भने हामी त्यसलाई स्वीकृत गर्दैनौं, सबै सम्झौताहरु अब मन्त्रालयले नै स्वीकृत गर्नेछ ।’श्रममन्त्री नउमीले अब विदेशी कामदारले न्यूनतम तलबसँगै निःशुल्क आवास, खाना र स्वास्थ्य सेवासम्बन्धी सुविधा पनि प्राप्त गर्ने बताएका छन।
सन २०२२ को विश्वकप फुटबल आयोजना गर्ने जिम्मेवारी पाएलगत्तै कतारमाथि त्यहाँका बिदेशी कामदारलाई उचित पारिश्रमिक र सुविधा दिन विभिन्न मानव अधिकारवादी संस्थाहरुले दबाब दिएका थिए।
कतारले श्रम मामिलामा सुधारको सुरुवात सन् २०१५ बाट थालेको हो । कामदारलाई अनिवार्यरुपमा बैंक खातामा तलब जम्मा गर्ने, आलोचित बनेको काफाला सिस्टमलाई बिस्थापित गर्दै विदेशी कामदारसँग सम्झौता गर्ने प्रणाली सुरु गर्ने काम भइसकेका छन् ।सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले विदेशी कामदारमाथि भइरहेको व्यवहारका विषयमा आलोचना खेप्दै आएको थियो ।
कतारी श्रममन्त्री नाउमीले भने– सुधार प्रयास यतिमै रोकिनेवाला छैन, यो हाम्रो दीर्घकालीन प्रतिवद्धता हो र आगामी दिनमा थप सुधारका कामहरु देख्नुहुनेछ ।’