१ मंसिर २०७४, शुक्रबार

हरारे, ३० कात्तिक (रासस/एएफपी) : जिम्बावेको सेनाले सत्ता हातमा लिएको छ । बुधबार बिहानी पख सरकारी प्रशारण संस्थालाई नियन्त्रण गरेको सेनाले रातिसम्ममा सत्ता हत्याएको हो ।

सेनाले सत्ता हातमा लिएपछि राष्ट्रपति रोबर्ट मुगाबेलाई घरैमा नजरबन्द गरिएको छ । तर उहाँले आफू सकुशल रहेको जानकारी दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकब जुमालाई दिनुभएको छ ।

जिम्बाब्वेको सेनाले देशको शासन सत्ता नियन्त्रणमा लिएपछि बुधबारदेखि नै यहाँका राष्ट्रपतिको अवस्थाको बारेमा विभिन्न अनुमानहरु गरिएका थिए ।बुधबार राति राष्ट्रपति जुमाले जिम्बावेका राष्ट्रपति मुगाबेसँग आफ्नो टेलिफोन वार्ता भएको बताउनुभएको छ । राष्ट्रपति मुगाबेले आफू निवासमै नजरबन्दमा सकुशल रहेको बताउनुभएको थियो ।

जिम्बावेको राजधानी हरारेका सडकहरुमा सेनाका सवारी साधनमात्र देखिएका छन् । सडकहरुमा सवार र अन्य सैनिकहरुले सडकमा समेत गस्ती गरिरहेका देखिन्छन् ।उता अफ्रिकी संघले जिम्बावेको सेनाले सत्ता लिएको जनाएको छ । साथै उक्त संघले जिम्बावेको सेनालाई कारवाही रोक्न आह्वान पनि गरेको छ ।

सरकारी टेलीभिजनमार्फत जिम्बावेका एकजना सैनिक जर्नेलले सेनाले विद्रोह नगरेको बताएका छन् । उनले यहाँका राष्ट्रपति रोबर्ट मुगाबे सुरक्षित रहेको पनि सो टिभीमार्फत सार्वजनिक गरेका छन् ।

यहाँको सेनाले औपचारिकरुपमा के गरिरहेको हो भन्ने बारेमा केही बताएको छैन । त्यसैगरी अहिले भइरहेको सैनिक कार्वाहीको नेतृत्व पनि कसले गरिरहेको छ भन्ने कुरा स्पष्ट छैन ।
–––

LIVE TV