३० कार्तिक २०७४, बिहीबार
  • हरिकृष्ण गौतम

म्याग्दी । सुन्तला बेच्ने अनुकुल महिलना मंसिर भएपनि म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा असोजदेखि विक्रि सुरु भएको छ । सुन्तलाको बगैचामा नै पुग्ने व्यापारीहरुले असोज महिनामा नै पेश्की रकम बुझाएर सुन्तला सुरक्षित गरिसकेका छन् । सुन्तला राम्रो उत्पादन हुने भकिम्लीमा हरेक बर्ष व्यापारीहरु यसरी नै सुन्तला पाक्नु अगावै पुग्ने गर्छन ।

भकिम्लीकी जसिकला रोकाले असोजको अन्तिम साता बोटबाटै सुन्तला विक्री गरिन् । गतबर्ष मंसिरको पहिलो साता सुन्तला किन्न बगैंचामा ब्यापारी आउने गरेको भएपनि १ लाख पेस्की बुझेर सुन्तलाको पहिलो व्यापार गरिसकेकी छिन् । विगतमा भरिया, सवारीसाधनको प्रयोग गरी सुन्तला ढुवानी गरेकी रोका जस्तै कुल बहादुर गर्बुजाले समेत काँचै सुन्तला विक्री गरी घरमै नगद बुझे । रोका र गर्बुजा जस्तै गाउँका ६५ घरधुरीले घरको आगनमै १० हजार देखि १ लाखसम्म पहिलो किस्ता लिएका छन् ।

गतबर्ष सडक सञ्जालले जोडिएपछि गाउँमै पुग्ने गरेका ब्यापारीले राम्रो फाईदा गरेको जानकारी पाएपछि गाउँकै सुन्तला कृषक मन कुमारी पुन र राजु पुनले बाहिरी जिल्लाबाट आउने ब्यापारीले भन्दा राम्रो मुल्यमा सुन्तला खरिद गरेको स्थानीय तारादेवी घर्तीमगर बताउछिन् । बारीको छेउमै ट्रक ल्याएर आएका ब्यापारीले कृषकले भनेजस्तो मुल्य दिएपछि यसबर्ष गाउँमै सुन्तलाको विरुवा उत्पादन गरी अन्य अन्नबालीलाई समेत विस्थापित गरी सुन्तला खेती विस्तार गरेका छन् ।

यता जिल्लामा सुन्तलाको पकेट क्षेत्रको रुपमा चिनिएको राखुमा राज्यबाट प्राप्त हुने अनुदान र सहयोग अपेक्षा गरे अनुसार नभएको गुनासो कृषकको छ । सुन्तला खेतीमा आर्कषित भइरहेको अवस्थामा जिल्लास्थित सरकारी निकायबाट प्राप्त हुने अनुदान तथा सहयोगलाई प्रभावकारी बनाउन सकेमा बार्षिक ५० देखि ७० लाखसम्मको सुन्तला निर्यात गर्ने सकिने स्थानीयको भनाई छ ।

सडक अभावका कारण बारीमा फलेको सुनलाई समेत सहजै बजारसम्म पु¥याउन असफल भएका स्थानीयले आफ्नो घरको लालपुर्जा, सांसद विकास कोष, कृषकले आफ्नो गरगहनालाई समेत वित्तीय संस्थामा धितो राखेर सडक विस्तार गरेका थिए ।

कृषि कार्यालयबाट पनि सुन्तलाको बगैचा विस्तार, सुधार, पुराना बोटको उपचार, सुन्तला ढुवानी गर्ने कार्टुनमा अनुदान लगायतका कार्यक्रमहरू सञ्चालन भइरहेको छ । गतबर्ष म्याग्दीमा २ हजार ८६ मेट्रिक टन अर्थात ७ करोड ३० लाख १० हजार बराबरको सुन्तला उत्पादन भएको थियो । यस बर्ष पनि सोही परिमाणमा उत्पादन हुने विश्वास गरिएको छ ।

 

 

LIVE TV