

स्याङ्जा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको पाँच वर्षमा हिन्द र प्रशान्त महासागरमा नेपाली झण्डा हल्लाउदै पानी जहाज कुदाउने प्रतिबद्धता जनाएका छन् । बाम गठबन्दन स्याङ्जा क्षेत्र नम्बर २ ले वालिङमा गरेकोे चुनावी सभालाई सम्बोधन गर्दै ओली यो सम्भव भएको र पाँच वर्षभित्र नै गरेर देखाइदिने दाबी समेत गरे ।
आफूले पुर्वपश्चिम रेल चलाउने कुरा गर्दा काँग्रेसले आफुलाई उडाएको प्रति असन्तुष्टि जनाउदै निर्वाचन पश्चात बन्ने बामपन्थी सरकारले यी सबै कुरा पुरा गरेर देशलाई सम्मृद्धिको बाटोमा अगाडी बढाउने बताए । अब बन्ने सरकारले बृद्धबृद्धाको लागि दिदै आएको रकमलाई पाँच हजार बनाउने बताए ।
अध्यक्ष केपी शर्मा ओलीले आफुले देश नाकाबन्दीले आक्रान्त बनेको बेला नेतृत्व लिएर शिर नझुकाईकन नाकाबन्दी खुलाएर मात्र भारत भ्रमण गरेको स्मरण गर्दै समान हैसियतमा उभिनको लागि आँट चाहिने बताए । उनले आफु कुनै पनि शक्तिसँग नडराउने स्पष्ट पारे । बाम गठबन्दन आजको आवश्यकता भएको बताउँदै यो गठबन्धन देखि नेपाली काँग्रेस अत्तालिएको बताए ।
‘अब काँग्रेस गणेशमानको पालाको काँग्रेस छैन’ ओली भने, ‘त्यसैले प्रजातन्त्रमा विश्वास गर्ने काँग्रेसका कार्यकर्ताहरुलाई बाम गठबन्धनको अभियानमा सहभागी आग्रह गर्दछु ।’ अध्यक्ष ओलीले ०४२/४३ सालतिर स्याङ्जाको जेलमा बसेको स्मरण गर्दै आफुले सो जिल्लालाई विकासको गतिमा अगाडी बढाउने सवालमा कुनै कसर बाँकी नराख्ने बताए ।
सभालाई सम्बोधन गर्दै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुहरुले बाम गठबन्धन गरेकोमा नेपाली काँग्रसले आफुहरुविरुद्ध अनावश्यक हल्ला फैलाएको बताए । आफुले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि दक्षिणपन्थी गठबन्धन बनाउन सल्ला दिएको प्रचण्डले बताए । निर्वाचन सम्पन्न नगर्दा सम्म सरकार नढाल्ने आफुले प्रतिबद्धता जनाए पनि काँग्रेसले आफूहरुमाथि शंका गरेको उनले बताए ।
प्रचण्डले सरकारका मन्त्रिहरुले राज्यको सेवा सुविधा र पदको दुरुपयोग गरि निर्वाचनलाई प्रभावित पार्न खोजेको बताउदै यसो नगर्न चुनौती दिए । काँग्रेसले कम्युनिष्टहरुलाई फुटाएर धेरै वर्ष शासन गरेको बताउँदै अब सबै कम्युनिष्टहरु एकताबद्ध भएर अगाडि बढने बताए । उनले निर्वाचनपछि बामपन्थीहरुको पहिलो बहुमत प्राप्त सरकार बन्ने ठोकुवा गरे ।