
- रिया भण्डारी
काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले गत २८ असोजमा लिएको विवादित एमबीबीएसको प्रवेश परीक्षा रद्द हुने भएको छ ।
छानविन समितिले बुझाएको प्रतिबेदन हेर्दा प्रश्नपत्र बाहिरिएको पुष्टि भएको भन्दै त्रिभुवन विश्व विद्यालय कार्यकारी परिषदले पुनः परीक्षा गर्न आइओएमको परीक्षा बोर्डलाइ सुझाब दिएको हो ।
त्रिविका उपकुलपति तीर्थ खनियाँले सबैतिरको छानबिनको प्रतिबेदन हेर्दा परीक्षा मर्यादित नभएको र प्रश्नपत्र बाहिरिएकोले पुनः परिक्षा गर्न आइओएमको परीक्षा बोर्डलाइ सुझाव दिएको बताउनु भयो ।
परीक्षामा संलग्न बिद्यार्थीहरुले बिहीबार उपकुलपतिलाइ भेट्दै मेडिकल शिक्षा जस्तो बिषयमा हुने यस्तो चलेखेल बन्द गर्न माग गरेका थिए । उपकुलपति खनियाँले भने परीक्षामा चलेखेल भए पनि आइओएमका पदाधिकारीहरु संलग्नता नरहेको दाबी गर्नु भयो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानमा एमबीबीएसको परीक्षामा चिट चोरी भएको र प्रश्नपत्र बाहिरिएको पुष्टि भएको थियो । त्रिबिले पुनः परीक्षाको बिकल्प नभएको भनिसक्दा पनि सोहि मातहतको संस्था आइओएम अटेर गरेर बस्नु लज्जास्पद देखिएको छ ।