
- ज्योति कुमार पन्थी
बर्दिया। निर्माण कम्पनीको लापरवाहीका कारण अलपत्र परेको बर्दिया क्षेत्रमा पर्ने हुलाकी सडक निर्माणले अहिले गति लिन थालेको छ । गुलरिया भुरिगाउँ र गुलरिया राजापुर सडक ६ वर्षदेखि अलपत्र रहँदै आएको थियो । बर्दियाकै विकासको मेरुदण्डका रुपमा हेरिएको सडक निर्माणले प्राथमिकता पाउने भएपछि जिल्लाबासीले राहतको महशुस गरेका छन् ।
सदरमुकाम जोड्ने सडक धुलाम्मे बनेको पीडा बर्दियावासीले भोग्दै आएका छन् । कहिले निर्माण होला भन्ने आशा बोकेका स्थानीय बल्ल राहत महशुस गर्न थालेका छन् । मुर्तिहा गुलरिया भुरिगाउँ सडक र बेलवा राजापुर सडक निर्माण प्रकृया बल्ल बल्ल सुरु भएपछि आशा पलाएको भन्दै स्थानीय हर्षित देखिन्छन् ।
६ वर्ष अघि निर्माण प्रक्रिया सुरु भएपनि निर्माण कम्पनीको उदासिनता विकासको बाधक बन्दै आएको थियो । करिव एक बर्ष अघि मात्र ठेक्का सम्झौता भएको गुलरिया मुर्तिहा भुरिगाउँ सडकको करिव ३६ किलोमिटर निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी जेभीआरले लिएको थियो ।
विविध कारण देखाउँदै भारतीय कम्पनी निर्माण कार्य छाडेर हिडेको तितो यर्थाथ बर्दियाबासीले भोग्दै आएका थिए । जिल्लाको बिकासको मेरुदण्डका रुपमा चिनिएको हुलाकी सडक निर्माण हुँदा पटक पटक स्थानीय बासिन्दाले यसको बारेमा कुरा उठाउँदै आएका थिए । भारतीय कम्पनीले काम छाडेपछि सरकार आफैंले उक्त सडक निर्माणको जिम्मा लिएको थियो । अब काम हुनेमा बर्दियाबासी विश्वस्त बनेका छन् ।
स्थानीय तहका जनप्रतिनिधिले पनि उक्त सडकखण्ड निर्माणमा ताकेता गर्दै आएपछि बल्ल तल्ल निर्माणले गति लिएको स्थानीयको भनाई छ । सडक निर्माण कार्य सुरु भएपछि अब काम नरोकिनेमा मधुवन नगरपालिकाका प्रमुख कृष्ण केसी ढुक्क देखिन्छन् ।
बर्दियाको सदरमुकाम गुलरिया हुँदै भुरिगाउँ र राजापुर सम्म पुग्ने सडक निर्माण गर्नका लागि सरकारले ६२ करोड १८ लाख छुट्याएको छ । सडक निर्माणमा अझै ३० महिना लाग्ने हुलाकी राजमार्ग आयोजनाले बताएको छ । सडक निर्माणका लागि दायाँ बाँया १५ /१५ मिटर सम्मका भौतिक संरचना समेत भत्काईने भएको छ ।