३० कार्तिक २०७४, बिहीबार
फाइल तस्विर

बागलुङ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाधीनताका लागि वाम एकता अपरिहार्य भएको बताउनुभएको छ । संयुक्त वाम गठबन्धनद्वारा जिल्लाको गलकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले मुलुकको समृद्धि र सुव्यवस्था आफूहरूले चाहेको उल्लेख गर्नुभयो ।

“व्यवस्थामा मात्र होइन, व्यवहारमा, प्रणालीमा मात्र होइन प्रक्रियामा पनि परिवर्तन चाहिएको छ” – उहाँले भन्नुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले दिगो सरकारले मात्र मुलुकको विकास र समृद्धिको नेतृत्व गर्नसक्ने बताउनुभयो । उहाँले चुनावपछि वामपन्थी दलको सरकारले बन्ने दाबी समेत गर्नुभयो ।

राष्ट्रिय एकता र स्वाधीनताको रक्षा वाम दलहरूबाट मात्र सम्भव भएको र चुनावपछि वाम एकताको प्रक्रिया सुरु हुने उहाँको भनाइ छ । “चुनावलगत्तै एमाले र माओवादीबीच एकता प्रक्रिया सुरु हुन्छ,” नेता ओलीले भन्नुभयो – “हामी शक्तिशाली कम्युनिष्ट केन्द्र स्थापना गर्दै समाजवादको आधार तयार गर्छौं ।”

कम्युनिष्टको बहुमतसहितको सरकारले आधारभूत तहका जनताको जीवनस्तर उकास्ने गरी काम गर्ने उहाँले बताउनुभयो । “सबै जनताको विकास र समृद्धिको आकंक्षा पूरा गर्ने गरी हामी काम गर्छौं, अब मुलुकको नेतृत्व हामी लिन्छौं”– उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले बृटिश गोर्खामा रहेका नेपाली दाजुभाईलाई बेलायतले सौतेनी व्यवहार गरेको भन्दै अब गोर्खा भर्ती केन्द्र रोकिने बताउनुभयो । ‘कम्युनिष्टहरूको शासन आउँछ’, ओलीले भन्नुभयो , ‘त्यसपछि गोर्खाहरूलाई विभेद गर्ने गोर्खा भर्ती केन्द्र रोक्छौँ ।’

शक्तिशाली कम्युनिष्ट केन्द्र बन्छ –अध्यक्ष दाहाल

सोही सभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माणको प्रक्रिया सुरु भएको बताउनुभयो । उहाँले मुलुकलाई समाजवादको युगतिर लैजाने उद्घोष गर्दै आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावपछि बन्ने कम्युनिष्ट सरकारले त्यसको नेतृत्व गर्ने दाबी गर्नुभयो ।

उहाँले धेरै दल हुँदा अस्थिरता बढेको भन्दै दलहरूबीचको एकता सुखद भएको प्रतिक्रिया दिनुभयो । उहाँले आफ्नो दल पनि एकताबारे बहस चलाउन तयार रहेको उल्लेख गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम गठबन्धनले नेपालको इतिहासमा यस पटक दुई तिहाई बहुमतको सरकार बनाउने दाबी गर्नुभएको छ । उहाँले वामपन्थीको गठबन्धनबाट नेपाली काँग्रेस डराएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष प्रचण्डले चितवनमा आफू लडेको क्षेत्रका विक्रम पाण्डेलाई सहयोग गरेर गिरिजाप्रसाद कोइराला र आफूले देशलाई दिन खोजेको निकासका विषयमा काँग्रेस अहिले भुलेको दुःखेसो गर्दै बाह्रबुँदे सहमतिमा हस्ताक्षर गर्दा सबै मिलेर देखेको सपना पूरा नहुने देखेपछि वाम गठबन्धन गरिएको बताउनुभयो । “नेपाली काँग्रेसले अहिलेसम्म वामपन्थीलाई फुटाएर फाइदा उठायो” उहाँले भन्नुभयो, “अब वामपन्थीको गठबन्धनसँगै नेपाली काँग्रेसका दिन समाप्त भए ।”

LIVE TV