
विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली
अबुधाबी (रासस) । राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्स (युएई) को तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी आज बिहान यहाँबाट काठमाडौँका लागि प्रस्थान गर्नुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा तीन दिने औपचारिक भ्रमणका लागि कात्तिक २७ त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
उहाँलाई अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलमा आर्थिक विकास विभागका प्रमुख सैफ मोहम्मद अल हजेरीले हार्दिक बिदाइ गर्नुभयो । राष्ट्रपति भण्डारीको भ्रमण दलमा आपूर्तिमन्त्री जयन्त चन्द पनि हुनुहुन्छ ।
उहाँहरूको बिदाइका लागि विमानस्थलमा नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत सइद हमदन अलनक्वी, युएईका लागि नेपालका कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन तथा नेपाली दूतावासका अन्य अधिकारीहरू एवं युएईका शिष्टाचार अधिकारीहरूको पनि उपस्थिति थियो ।
नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४० औँ वार्षिकोत्सवको सन्दर्भमा राष्ट्रपतिबाट यो भ्रमण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीका साथ उहाँकी छोरी निशाकुसुम भण्डारी, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीयसचिव भेषराज अधिकारी र राष्ट्रपतिको कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चार माध्यमका प्रतिनिधि रहनुभएको छ ।