३० कार्तिक २०७४, बिहीबार

राजाराम कार्की

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भक्तपुरमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । नेपाली काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धन, नेकपा (एमाले)को नेतृत्वमा वाम गठबन्धन र नेपाल मजदुर किसान पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

यद्यपि भक्तपुरको क्षेत्र नं २ मा कसले बाजी मार्ला ! जनताले आ–आफ्नो ढंगले टोल टोलमा फरक–फरक अड्कलबाजी गरेको पाइन्छ ।

भक्तपुरको क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ लोकतान्त्रिक गठबन्धनबाट पूर्वसभामुख दमननाथ ढुंगाना र वाम गठबन्धनबाट पूर्वमन्त्री महेश बस्नेतको उम्मेदवारीलाई अभिरुचीपूर्वक हेरिएको हो ।

वाम गठबन्धनले भक्तपुरको क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई छोड्ने र आफ्नो पक्षको उम्मेदवारी नदिने बताइरहँदा सो पार्टीका अध्यक्ष बिजुक्छेले एक्कासि आफ्नो सट्टा प्रेम सुवाललाई उम्मेदवार बनाउने निर्णय गरेपछि यहाँ वाम गठबन्धन अत्तालिएको छ ।

त्यसैगरी नेपाली काँग्रेसले राष्ट्रिय छवि बोकेका पूर्व सभामुख दमननाथ ढुंगानालाई भक्तपुरको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन गरेकाले वाम गठबन्धले पनि सहजै चुनाव जित्न सक्ने सम्भावना देखिएको छैन । वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका स्थानीय युवा नेता महेश बस्नेत जनताका बीच लोकप्रिय मानिनुहुन्छ । त्यसैले यहाँ वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन नेतृत्वदायी भूमिका निर्बाह गर्नुभएकाले ढुंगाना केही वामपन्थी कार्यकर्ताबीच लोकप्रिय मानिनुहुन्छ । नेपाली काँग्रेसका नेता तथा जिल्ला पार्टी सभापति दुर्लभ थापाका अनुसार नेपाली काँग्रेसका उम्मेदवारलाई वामपन्थीले सहयोग गर्ने वातावरण बन्दै गएको बताउनुहुन्छ ।

काँग्रेसका नेता रामेश्वर ढुंगेल, लेखनाथ न्यौपाने, रामप्रसाद दवाडी र पार्टी सभापति दुर्लभ थापालगायतले भक्तपुरमा दमननाथ ढुंगानाको उम्मेदवारी विशेष परिस्थितिमा भएकाले पार्टी एकढिक्का भएर अगाडि बढ्ने बताउनुभयो ।

भक्तपुरका दुई क्षेत्रमध्ये क्षेत्र नं २ मा नेपाली काँग्रेसको जनाधार बलियो छ । यसअघि नेपाली काँग्रेसका उम्मेदवार रामेश्वर ढुंगेलले सो क्षेत्रबाट निर्वाचित भए पनि स्थानीय निकाय निर्वाचनमा भक्तपुर काँग्रेसले लज्जास्पद पराजय व्यहोरेका कारण नेपाली काँग्रेसले पूर्व सभामुख ढुंगानालाई सो स्थानका लागि मनोनयन गरेको पुराना राजनीतिज्ञ लेखनाथ न्यौपाने बताउनुहुन्छ ।

केही साताअघि अध्यक्ष बिजुक्छेले आयोजित चुनावी सभामा वाम गठबन्धनको हरियो घाँसबाट आफू कदापि नलोभिने र नेमकिपालाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न नसक्नेसमेत बताउनुभएको थियो ।

वाम गठबन्धनले प्रतिनिधिसभामा क्षेत्र नं २ का उम्मेदवार महेश बस्नेतको निर्वाचनलाई सुनिश्चित गर्न प्रदेश नं १ मा वाम गठबन्धनले आफ्नो उम्मेदवारी नदिने बताएको थियो । जबकि २०४६ सालपछिका निर्वाचनमा नेपाल मजदुर किसान पार्टीबाहेक अन्य दल विजयी हुन नसकेको इतिहास छ ।

भक्तपुरको दुवै क्षेत्रमा लोकतान्त्रिक गठबन्धनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), नेकपा माओवादी वैद्य र अन्य केही स्वतन्त्र उम्मेदवारले सघाउने प्रायः निश्चित भएको नेपाली काँग्रेसका सभापति दुर्लभ थापाले बताउनुभयो ।

उता वाम गठबन्धनले पनि आफ्नो जित सुनिश्चित रहेको बताउँदै आएको छ । दुई निर्वाचन क्षेत्र रहेको भक्तपुरमा क्षेत्र नं १ अन्तर्गत प्रतिनिधिसभामा लोकतान्त्रिक गठबन्धनबाट बाबुराजा जोशी, वाम गठबन्धनबाट मिलन सुवाल र नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवालको उम्मेदवारी परेको छ । क्षेत्र नं १ मा भक्तपुर र चाँगुनारायण नगरपालिका पर्छन् । उक्त क्षेत्रको प्रदेश (क) मा ५० हजार ६१२ मतदाता रहेका छन् । सो प्रदेशमा नेपाल मजदुर किसान पार्टी बलियो शक्तिका रुपमा रहेको छ ।

भक्तपुरको प्रतिनिधिसभा १ को निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवालले बाजीमार्ने विषयमा सो पार्टीका कार्यकर्ता ढुक्क छन् । उक्त प्रदेशको भक्तपुर नगरपालिकामा हालसम्म अन्य दलका उम्मेदवार विजयी हुन सकेका छैनन् । सो क्षेत्रको प्रदेश नं. (ख) मा चाँगुनारायण नगरपालिका पर्छ । उक्त प्रदेशमा ४३ हजार ५५२ मतदाता रहेका छन् ।

प्रतिनिधिसभा १ अन्तर्गत रहेको प्रदेशसभा (ख) मा गठबन्धन तोडिएको छ । नेकपा (एमाले)बाट हरिशरण लामिछाने र नेकपा (माओवादी केन्द्र)बाट डिपी ढकाल चुनावी मैदानमा छन् । जसका कारण उक्त प्रदेशमा प्रदेशसभा सदस्यमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जीवन खत्रीलाई निर्वाचन जित्न सजिलो भएको छ ।

त्यसैगरी, क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ढुंगाना र वाम गठबन्धनका उम्मेदवार बस्नेत र नेपाल मजदुर किसान पार्टी अनुराधा थापामगर चुनावी मैदानमा छन् । सो क्षेत्रमा मध्यपुर ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिका पर्छ । उक्त क्षेत्रमा कूल ८३ हजार ९३१ मतदाता रहेका छन् ।

क्षेत्र नं २ अन्तर्गतको प्रदेश (क) मा लोकतान्त्रिक गठबन्धनबाट अंगत खड्का र वाम गठबन्धनबाट शशिजंग थापा एवं नेपाल मजदुर किसान पार्टीबाट सरोजराज गोसाईं चुनावी मैदानमा हुनुुहुन्छ ।

यसैगरी सो क्षेत्रको प्रदेश ( ख) मा लोकतान्त्रिक गठबन्धनबाट गणेशमान चक्रधर र वाम गठबन्धनबाट राजेन्द्रमान श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । सो प्रदेशमा ३९ हजार ८४६ मतदाता रहेका छन् । दुवै क्षेत्र गरी भक्तपुरमा एक लाख ७८ हजार मतदाता रहेका छन् भने कूल मतदान केन्द्र १११ रहेका छन् ।

LIVE TV