३० कार्तिक २०७४, बिहीबार

दीपक भट्ट

रामेछाप सदरमुकाम मन्थलीमा विश्व चर्चित अर्जेन्टिनी फुटबल स्ट्राकर लियोनेल मेस्सीले प्राथमिक स्वास्थ्य केन्द्रको लागि ८ कोठे प्रिफ्याब भवन निर्माण गरिदिएका छन् । २७ महिना अघि गएको विनाशकारी भूकम्पले भत्काई दिएको भवन फुटबल खेलाडी मेस्सीको आर्थिक सहयोग तथा यूनिसेफको सहजीकरणमा निर्माण गरिएको हो ।

रामेछापको मन्थलीस्थित आकाशेमा निर्माण गरिएको प्राथमिक स्वास्थ्य केन्द्रको भवन एक औपचारिक कार्यक्रमको आयोजना गरि उद्घाटन पश्चात स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको छ । भवन हस्तान्तरण कार्यक्रमलाई संवोधन गर्दै यूनिसेफका नेपाल प्रतिनिधि टोमो ओजमीले आमा र बच्चाको साथै स्थानीयले राम्रो स्वास्थ्य सेवा पाउँने विश्वास ब्यक्त गर्नुभयो ।

प्रिफ्याव भनि निर्माण गरिए पनि प्राथमिक स्वास्थ्य केन्द्रलाई दिने भनिएको जग्गा अझै स्वास्थ्य केन्द्रका नाममा नआइसकेकाले तत्कालै पक्की भवन निर्माण गर्न सकिने अवस्था भने नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रको नाममा तत्कालै जग्गा नामसारी गर्ने ब्यवस्था गर्न पनि स्वास्थ्य विभागका पुनःनिर्माण इकाईका कार्यक्रम प्रमुख प्रणयप्रसाद उपाध्यायले बताउनुभयो । कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले स्वास्थ्य संस्थाको नाममा जग्गा नामसारी र ब्लड बैंक स्थापनाको लागि तत्काल पहल गर्ने बताउनुभयो ।

रामेछाप जिल्लामा भूकम्पले क्षति पुर्याएका स्वास्थ्य संस्थाहरु मध्ये स्पेनको वार्सिलोना क्लबबा स्ट्राइकर मेस्सीको आर्थिक सहयोगमा १३ वटा स्वास्थ्य भवन निर्माण भइरहेको छ । जसमध्य मन्थली र ओख्रेनीमा निर्माण गरिएको स्वास्थ्य भवन स्थानीयलाई हस्तान्तरण गरिएको छ । अन्य ११ वटा स्वास्थ्य भवन भने निर्माणको अन्तिम चरणमा पुगेको छ ।

LIVE TV