३० कार्तिक २०७४, बिहीबार

बाबियाचौर, म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलाका बाढी र बैसरी–२ का पहिरोपीडितले उम्मेदवारसँग बसोबासको व्यवस्था मिलाउन माग गरेका छन् ।

आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावका लागि भोट माग्न बस्तीमा पुग्ने उम्मेदवार, नेता र कार्यकर्तालाई बसोबासको व्यवस्था मिलाउन माग गरेका हुन् ।

विसं २०७२ जेठ १० गते काफलडाँडाको भिरबाट खसेको पहिरोले भगवतीको बैसरी गाउँ पुँरिदा २७ परिवार घरबारविहीन भएका थिए । यसैगरी २०७३ भदौ १७ गते राति बेगखोलामा आएको बाढीले बस्ती बगाएपछि ११ घर विस्थापित भएका थिए ।

टहरामा बस्दै आएका पहिरो र बाढीपीडितले स्थायी बसोबासको व्यवस्था मिलाउन माग गरेका हुन् । बैसरीको घर पुरिएपछि पिप्लेको राहुपारेस्थित बेनी–जोमसोम सडकको छेउमा रहेको सामूहिक टहरामा बस्दै आएकी खरमती गर्बुजाले बस्ने घरको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

“बस्ने घर, उब्जनी हुने जग्गा सबै पहिरोमा पुरियो” गर्बुजाले भन्नुभयो, “हामीले भोट हालेर जिताउने उम्मेदवारले बसोबासको व्यवस्था मिलाइदिए हुन्थ्यो । बस्ने ठाउँ छैन, भोट हालेर के गर्ने ?” राहुपारेमा हाल सात घरपरिवार पहिरोपीडित बस्दै आएका छन् ।

चार घरपरिवार पुहिरोले पुरिएको पुरानै ठाउँमा अस्थायी टहरा बनाएर बसेका छन् । अन्य बेनी, पोखरा गएर कोठा भाडा लिएर बसेका छन् । अन्य घरजग्गा नभएका पीडितलाई अहिले बसोबास गरेकै अथवा नयाँ उपयुक्त ठाउँ खोजेर स्थानान्तरण गर्नुपर्ने उनीहरुको माग छ ।

टहरामा विद्युत् र खानेपानीको प्रमुख समस्या छ । विद्युत् सुविधा नहुँदा छिमेकी गाउँमा गएर मोबाइल चार्ज गर्नुपर्ने बाध्यता छ । खानेपानी र विद्युत् अभावमा दैनिक जीवनयापन कष्टकर बनेको पहिरोपीडित भेमबहादुर गर्बुजाले बताउनुभयो । “गर्मीमा छानाको टिनले पोल्छ, बारेको पाल फाटिसक्यो अहिले चिसोले राति निदाउनै सकिँदैन”, गर्बुजाले भन्नुभयो ।

तत्कालीन अवस्थामा प्रशासन, रेडक्रस र विभिन्न संघसंस्थाले आकस्मिक राहत सामग्री उपलब्ध गराएपनि त्यसपछि कसैले वास्ता नगरेका बाढीपीडित अतिमाया बुढाथोकीले बताउनुभयो । उनीहरुको बसोबासका लागि बेगखोला कल्याणकारी समाज बेलायतले नगद जुटाएको भए पनि जग्गा अभावमा काम अघि बढ्न सकेको छैन ।

LIVE TV