
अफ्रिका । जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेलाई घरभित्रै नजरबन्दमा राखी जिम्बाबे सेनाले मुलुकलाई नियन्त्रणमा लिएको छ । सेनाले बुधबार सञ्चार माध्यमहरू सैनिक नियन्त्रणमा लिएको थियो । त्यसपश्चात् बिहीबार राष्ट्रपति मुगाबेलाई घरमा नजबन्द गरी सैनिक शासन चलाएको हो ।
जिम्बाबेको राजधानी हरारे नजिकै बम विष्फोटनको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।जिम्बाबेका राष्ट्रपति ९३ वर्षीय रोबर्ट मुगाबेले उप राष्ट्रपतिलाई पदबाट बर्खास्त गरेपछि पछिल्लो समय जिम्बाबेमा राजनीतिक संकट देखा परेको थियो । ९३ वर्षीय मुगाबे संसारका सबैभन्दा पाका शासक हुन् ।
राष्ट्रपति मुगाबेले जिम्बाबे सेनाको उक्त कदमलाई सैनिक कूको संज्ञा दिएका छन् । केही दिन अगाडिमात्रै सरकारी सैनिक प्रमुखले जर्बजस्ती उपराष्ट्रपतिलाई पदबाट हटाइएको सरकारी कदममाथि सैनिक हस्तक्षेप गरिने चेतावनी दिएका थिए । अपदस्त गरिएका उप-राष्ट्रपति एमरसन मनांगग्वा कहाँ र कुन स्थितिमा छन् भन्ने बारे नखुलेको बुझिएको छ ।
जिम्बाबेका जनताहरू सेनाले राज्य-शक्ति आफ्नो नियन्त्रणमा लिएपछिको विशेष परिस्थितिमा अबको घटनाक्रम कसरी अगाडि बढ्छ भनेर प्रतिक्षारत छन् । राष्ट्रपति रोबर्ट मुगावेकि श्रीमती ग्रेस देश छोडेर नामिबिया पुगेको जनाइएको छ । उपराष्ट्रपतिको बर्खास्तपछि सेनाले लिएको कदम श्रीमती मुगावेको विरुद्धमा देखिएको छ ।