
म्याग्दी । निर्वाचन आचारसंहिता उल्लंघन चौतर्फी बढ्दै गएपछि स्थानीय आफैं खबरदारीमा उत्रिएका छन् । विशेष गरी विद्यालय चुनाव प्रचारस्थलका रुपमा प्रयोग हुन थालेपछि स्थानीय सचेता बन्न थालेका हुन् । म्याग्दीमा विद्यालयमा चुनावी गतिविधि रोक्न सरोकारवाला निकायहरु खबरदारीमा उत्रिएका छन् ।
राजनीतिक दल तथा उम्मेद्वारहरुले आफ्नो चुनावी कार्यक्रममा बालबालिकालाई प्रयोग गर्न थालेपछि लमजुङमा स्थानीयस्तरबाटै सचेतता कार्यक्रम सुरु गरिएको छ । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बालबालिकाको प्रयोग पूर्णरुपमा निषेध गरिनुपर्ने माग उनीहरुको रहेको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आयोजित छलफल कार्यक्रममा सरोकारवालाहरुले चुनावी अभियानमा बालबालिकाको प्रयोगले नकारात्मक असर पर्ने निष्कर्ष निकाल्दै राजनीतिक दलहरुलाई सचेता बनाउन जोड दिएका छन् । छलफलमा शान्ति क्षेत्रको रुपमा घोषणा गरिएको विद्यालयमा समेत निर्वाचन सम्बन्धि गतिविधि भइरहेको बताउँदै यस्ता कार्यलाई समेत रोक्न अनुरोध गरिएको थियो । निर्वाचन पूर्व, निर्वाचन अवधिभर र निर्वाचन पश्चात निर्वाचनको गतिविधिमा बालबालिका प्रयोग नगर्ने सम्बन्धित निकायालाई ध्यानर्कषण गराउने अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।
छलफलमा स्थानीय तहको निर्वाचनमा बालबालिकालाई आफ्ना दलको पोष्टर टाँस्न लगाउने, झन्डा समाएर अभियानमा सहभागि गराउने, सवारीसाधनमा समेत प्रयोग गर्ने गरिएको भन्दै यसपटक सदरमुकाम बेनी देखी ग्रामिण क्षेत्रसम्म नियमित निगरानी राख्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका थिए । सरोकारवाला निकायले बालबालिकाको प्रयोग भएको पाइए वा विद्यालय परिसरमा कार्यक्रम गरेको भेटिए उजुरी दिने तयारी समेत गरेका छन् ।