२९ कार्तिक २०७४, बुधबार
  • गोविन्द्र कुँवर

अछाम । अछामको बुढीगंगा नदी अन्तर्गत चित्रेमा निर्माणाधीन रहेको चित्रेपक्की पुलको निर्माण कार्य पुनः सुरु भएको छ । न्यूज २४ टेलिभिजनले निर्माण कम्पनी र स्थानीय प्रशासनको वेवास्ताका कारण पुल निर्माण अलपत्र भएको विषयमा समाचार प्रशारण गरेसँगै स्थानीय प्रशासन र निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले निर्माण कार्यलाई पुनः निरन्तरता दिएको हो ।

२०७० सालमा शिलान्यास गरिएको पुलकोे निमार्ण कार्य २०७२ सालको मंसिरमा सम्पन्न गर्ने लक्ष्य सहित निर्माण सुरु गरिएको थियो । सम्झौतामा २२ महिनाका काम सम्पन्न गर्ने सहमति गरे पनि ५ बर्ष हुन लाग्दा समेत पुल निर्माण हुन सकेन ।

पुल निर्माणका लागि जिल्ला समन्वयन समितिले रकम निकाशा गरे पनि पुल निर्माण अलपत्र परेको थियो । यो पुल बनेपछि पवित्र तिर्थस्थाल त्रिबेणी, रामारोशन, खप्तड, बैजनाथ, पञ्चदेवल लगायत पर्यटकीय क्षेत्रको यात्रा गर्न सहज हुने अपेक्षा स्थानीयले लिए पनि पुल नबन्दा स्थानीय मारमा परेका थिए । अलपत्र पुलको बारेमा न्यूज २४ टेलिभिजनले समाचार प्रसारण गरेसंगै पुल निर्माण कार्यले गति लिएको स्थानीयको भनाई छ ।

पुलको निर्माण गर्ने जिम्मा पाएको नन्देगडा तुल्सी दुर्गा जेवी कन्ट्रक्सनले पुल निर्माणमा काम गरिरहेका कामदारको समेत रकम नदिएकाले पुल निर्माणमा ढिलाई भएको पाईएको छ । कामदारलाई काम गरेको बापत ज्याल नदिएको सोही पुलको कामदारको भनाई छ।

यता मंगलसेन नगरपालिकाका प्रमुख पदम बोहोराले पुल निर्माणमा जिल्ला समन्वय समितिको समेत गल्ती भएको भन्दै जिल्ला समन्वय समिति र ठेकेदार कम्पनी अत नन्देगडा तुल्सी दुर्गा जेवी कन्टक्सनलाई पुल निर्माण पुरा नभएसम्म खबरदारी गरिरहने बताउनुभयो । पुल बन्न ढिलाई हुनुमा जिल्ला समन्वय समिति र ठेकेदार कम्पनीको लापरबाही भएको भन्दै आगामी दिनमा यस्तो लापारबाही हुन नदिने बोहोराले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समाचार प्रसारण भएसंगै स्थनीय प्रशासन र जिल्ला समन्वयन समितिलाई दबाब परेसंगै ठेकेदार कम्पनीलाई तत्काल पुल निर्माण बाध्य भएको थियो । यसरी सञ्चारमाध्यममा समाचार प्रशारण भएपछि मात्रै तदारुक्ता देखाउनुभन्दा कमजोरीहरुलाई अन्त्य गर्दै समयमा काम सम्पन्न गरे जनताले समेत समयमै राहत पाउने थिए ।

 

LIVE TV