
- प्रकाश सिग्देल
नवलपरासी । शान्ति र अहिंसावादी अभियानका अगुवा एवं बौद्ध गुरु महासंघनायक रिंन्पोछे कर्मज्ञान सागर लामाको बुधबार नवलपरासीको दाउन्नेमा हजारौंको बुद्ध धर्मावलम्बीको सहभागितामा अन्येष्टि गरिएको छ । २०३७ सालबाट नवलपरासीको दाउन्नेमा आश्रम बनाएर बस्नु भएका बौद्ध गुरु रिन्ंपोछे लामो समय देखि शान्ति र अहिंसाको बाटोमा हिडेका कारण बौद्ध धर्मावलम्बी बिच देशभरि नै परिचित हुनुहुन्थ्यो । एक हप्ता अघि निधन भएका ८२ वर्षीय गुरु लामाको उहांको गुफा स्थल दाउन्ने डांडामा बौद्ध परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।
संस्कार गर्नु पुर्व रिंन्पोछे लामाको पार्थिव शरिरलाई हेलिकप्टरमा राखि लुम्बिनी, बौद्ध तथा स्वयम्भूूको आकाश माथि घुमाएर दाउन्ने ल्याईएको थियो । भगवान बुद्धको पंचशिलको माध्यमबाट शान्ति र अहिंसाको विषयमा प्रवचन दिदैं आउनुभएका उहांको अन्त्येष्टिमा स्वेदशबाट मात्र नभई विदेशबाट समेत भक्तजन ओईरिएका थिए । उहाले बुद्धको पंचशिलको सिद्धान्तलाई देशब्यापी बनाउदै अहिंसाको बाटो मार्फत बौद्धमार्गीहरुमा चेतना जागृत गर्न महत्वपुण योगदान दिनुभएकाले उहाँ हजारै भक्तहरुको आस्थाको केन्द्र बन्नु भएको नेपाल अहिंसाबादी बौद्ध धर्म विश्व शान्ति चक्र संघका महासचिव भिक्षु प्रेम दोर्जे बल लामाले बताउनु भयो ।
कात्तिक २२ गते निधन भएका लामाको शरिर भक्तजनहरुको दर्शनका लागि एक हप्ता राखि बुधबार दाहसंस्कार गरिएको हो । उहाको पुर्नःआगमनका लागि हरेक हप्ता बिधिवत रुपमा बिभिन्न धार्मीक कार्य हुने र ४९औ दिनमा अन्तिम अन्त्येष्टि अर्थात नाम पारंगत गर्ने पस्चात सम्पुर्ण कार्य पुरा हुने अहिंसाबादी बौद्ध धर्म विश्व शान्ति चक्र संघका सचिव भिक्षु डि.बी.तितुंग लामाले बताउनु भयो ।
दिवंगत गुरुले आफ्नै अगुवाईमा आफ्नो आश्रम स्थल नजिकै अहिंसावादी महाबौद्ध अनाथ विद्यापिठ गठन गरि १ सय ४१ जना बालबालिकालाई आवासिय पठनपाठन गराउदैं आउनुभएको बताईएको छ । भक्तजनहरुले गुरुले शान्ति र अहिंसाको बाटो रोजेर शाकाहारी बन्न सबैलाई प्रेरित गर्ने गरेको बताउछन् ।
आफुहरुले पुर्नर जन्ममा बिश्वास गर्ने भएकाले गुरुको पुर्नजन्मको कामनाका लागि आफु आएको भरतपुरका अर्का भक्तको भनाई छ ।
रिंन्पोछे लामालाई २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सगरमाथा प्रतिष्ठान नेपालबाट सम्मान गर्नु भएका बताईएको छ । उहाँको गुम्बा रहेको करिव ३०० बिगाहा क्षेत्र राजा बिरेन्द्रले उहालाई भोगचलन गर्न दिएको प्रमाणहरु देख्न सकिन्छ । भिक्षु गुरु रिंग्पोछे लामाले विभिन्न बौद्ध धर्मस्थलबाट गरि १३ वर्ष गुफामा बस्नुभएको थियो ।