
- युवराज कँडेल
काठमाडौं। धन देखेपछि महादेवको पनि तीन नेत्र भने झै छ नेपालका बिभिन्न सरकारी निकायका कर्मचारीहरुलाई । अघिपछि केही नसोची क्वाप्प खान पाए पुग्छ भन्ने सोंच राखेका कर्मचारीहरुको कर्तुतको कारण देश त ठगियो ठगियो जनताले पनि नपाउनुको दुःख पाउँदै आएका छन् ।
भ्रष्टाचार र अनियमितताको स्वर्ग मानिने वैदेशिक रोजगार विभागमा पटकपटक अनियमितताको प्रकरणहरु सार्वजनिक हुँदै आएपनि कुनै सुधार नआइरहेको अवस्थामा यसपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखाले ठूलै माछा पक्रन सफल भएको छ । एक रिपोर्ट वैदेशिक रोजगारीमा सयाँै नेपाली दिनहुँ ठगिन्छन् ।
विदेशी भूमिमा आकर्षक तलब सुविधा देखाएर लाखौँ कुम्ल्याउने अनि फरार हुने दलालहरुको प्रवृति जस्तै बनिसकेको छ । साथै बग्रेल्ती खुलेका मेनपावरहरुले लाखौँ रुपयाँै लिएर विदेश पठाएपनि भने जस्तो काम,दाम र सुविधा नपाएपछि गुनासो गर्न जानेको भनेको वैदेशिक रोजगार विभाग नै हो । तर पछिल्लो संयम विभागबाट न्याय पाउने सर्वसाधारण भन्दा घुसकाण्डमा पक्राउ पर्ने कर्मचारीको संख्या धेरै छ । २०७२ साल देखि अहिले सम्म वैेदशिक रोजगार विभागमा ६ अधिकृत घुस लिदैँ गर्दा रङ्गे हात पक्राउ परको छन् ।
अख्तियारको पटक पटकको अप्रेशनबाट विभागका लेखा अधिकृत,कानुन अधिकृत,शाखा अधिकृत तथा नायव सुब्बापक्राउ परेका छन् । तर मंगलबार मेनपावरको मुद्वा मिलाउने वहानमा भएको घुस काण्डमा प्रत्यक्ष विभागका महानिर्देशक विश्वराज पाण्डेकै संलग्नता देखिएको अख्तियारले जनाएको छ । यस अघि २०७३ असोज १७ गते विभागका शाखा अधिकृत रमेश लामिछाने मेनपावरकै मुद्वा मिलाइ दिने भन्दै १० लाख घुस सहित कार्यालयबाटै पक्राउ परेका थिए । यस्तै २०७२ साल फागुन २७ गते वैदेशिक रोजगारीको ठगीको मुद्वा मिलाइदिने भन्दै मेनपावरसँग १ लाख घुस लिदैँ गर्दा विभागका कानुन अधिकृत उत्तमप्रसाद खरेल कार्यालयमै पक्राउ परेका थिए ।
विभागमै २०७३ बैशाख ५ गते मेनपावरले राखेको धरौटी रकम फिर्ता दिन १० हजार घुस लिदँै गर्दा लेखा अधिकृत प्रकाश आचार्य पक्राउ परेका थिए । २०७४ कार्तिक २८ गते मेनवापर सुचारु गर्न सर्वोच्च अदालतबाट आदेश भैसके पनि विभागका कर्मचारीले १५ लाख मागे थिए । तर १० लाखमा कुरा मिलेपछि मंगलबार बानेश्वर स्थित इन्द«ेणी फुडल्याण्डमा घुस लिदैँ गर्दा शखा अधिकृत कृतिवल्भ पौडेल र नायव सुब्बा खड्ग केसी रङ्गे हात पक्राउ परेका थिए ।
पौडेल र केसीको बयानबाट विभागका महानिर्देशक विश्वराज पाण्डे प्रत्यक्ष संलग्नता देखीएपनि उनी पनि उम्कन सकेनन् । महानिर्देशक पक्राउ परेको यो पहिलो घटना हो । यसरी श्रृङखलाबद्व वैदेशिक रोजगार विभागका अधिकृत देखि निर्देशक नै घुस सहित समातिनुले सर्वसाधारणको लागि विभागको उपयोगिता माथिनै प्रश्न खडा भएको छ ।
न्यूज २४ ले रोजगार विभाग र तिनका कर्मचारीमाथि राखेको निरन्तर निगरानीले पनि कर्मचारीहरुको कर्तुत बारम्बार सार्वजनिक हुँदै आएको छ ।