
- केशबराज पौडेल
काभ्रे । बर्थिङ सेन्टर किन सरकारले बनाउँछ ? मातृ र वाल सुरक्षाका लागि । बर्थिङ सेन्टरमा कम्तिमा अनमीको व्यवस्था सरकारले गरेको हुन्छ । तर, काभ्रेको विकट कोशीपारिस्थित भुम्लु गाँउपालिकाको बेखसिम्ले स्वास्थ्यचौकीमा भने कार्यालय सहयोगीले नै सुरक्षित सुत्केरी गराउनु पर्ने बाध्यता रहेको छ । सानो देखि ठूलो किसिमको कुनै पनि काम गर्नुपरेमा स्वास्थ्य चौकीमा रहेका कार्यले सहयोगीले नै सम्पूर्ण कार्यसम्पादन गर्दै आएका छन् । स्वास्थ्य चौकीमा रहेका अनमीहरु बिदामा बस्दा सम्पूर्ण काम कार्यालय सहयोगी गर्दा उपचार गराउन जाने बिरामीहरु समस्यामा परेका छन् ।
काभ्रेको बेखसिम्ले स्वास्थ्यचौकीमा कार्यालय सहयोगीका रुपमा एक जना महिला थिइन् । सोही समयमा करिब पाँच घण्टाको पैदल हिडेर आइपुगेका एकजना सेवाग्राहीको हातमा ७ ओटा टाँका लागेको थियो । तर, स्वास्थ्य चौकीमा कार्यलय सहयोगी बाहेक कोही पनि थिएनन् । कक्षा ६ सम्म मात्र अध्ययन गरेकी कार्यालय सहयोगीले अरुले गरेको हेरेर टाँका लगाएर पठाईन् । उनले धेरै पटक यसरी कार्यालयमा सेवा लिन आउनेलाई सेवा दिएकी छिन् । तर, कार्यालयमा आउने सेवाग्राहीहरुको समस्याले आफुलाई सताउने भएकाले जानेको औषधी दिने गरेको कार्यालय सहयोगीहरु बताउँछन् ।
। कोशीपारिमा सुरक्षित रुपमा सुत्केरी सेवा समेत दिने उदेश्यले बर्थिङ सेन्टर रहेपनि त्यहाँ कर्मचारी छैनन् । स्थानीय निकायको मातहतमा रहेकोस्वाथ्यचौकीमा कार्यरत २ जना अनमी लिलामायाँ रोका र कल्पना कवा भुम्लु गाँउपालिकालाई थाहा समेत नदिई बिदामा बसेका छन् । उनीहरु एक सातादेखि बिदामा बसेका हुन् । यस विषयमा गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले तत्कालै उनीहरुलाई स्वास्थ्यचौकीमै पुगेर चिठी काट्दै लिखित रुपमा स्पष्टिकरण दिन निर्देशन दिएका छन् ।
यता जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.सुुरेन्द्रप्रसाद चौरासियाले कम्तिमा एक जना भएपनि अनमी बर्थिङ सेन्टरमा आवश्यक रहेपनि कसैलाई जानकारी नदिई स्वास्थ्यचौकीमा हाजिरी नहुने कर्मचारीसँग स्पष्टिकरण सोधिने बताए । भौगोलिक रुपमा विकट काभ्रेको कोशीपारिको भुम्लुगाँउपालिका बेखसिम्लेमा रहेको स्वास्थ्यचौकी कार्यालय सहयोगीकै भरमा संचालन हुने गरेको छ ।
करोडौको भौतिक पुर्वाधार सम्पन्न भएपनि स्वास्थ्यचौकीमा नियमित रुपमा स्वास्थ्यकर्मीहरु नहुँदा सुत्केरी,गराउने, शरिरका अंङ्गहरुमा काटेको ठाँउमा टाँका लगाउनेसम्मको जिम्मेवारी कार्यालय सहयोगीको भरमा उपचार हुनु दुःखको कुरो हो । मासिक रुपमा करिब २० जनासम्म सुत्केरी गराउने भएपनि धेरै पटक कार्यालय सहयोगीको भरमै सुत्केरी हुने गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयले बिरामीहरुको स्वास्थ्यसँग खेलवाड गरेर विना जानकारी बिदा बस्नुे अनमीहरुलाई कारवाही गरेर तत्काल चौकीमा चिकित्सकहरुबाट सेवा प्रवाह गर्न आवश्यक देखिएकोे छ ।