
काठमाडौं । कालोबजारीको आरोपमा पक्राउ परेका दरवारमार्गका ब्रान्डेड पसलका सञ्चालकहरु धरौटीमा छुटेका छन् । ५० हजारदेखि २१ लाख रुपैयाँसम्मको धरौटीमा उनीहरु मंगलबार छुटेका हुन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई धरौटीमा छाड्ने आदेश दिएको हो। पक्राउ परेका १० जना प्रबन्धकलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ दरले धरौटी माग भएको छ। त्यस्तै, सञ्चालकहरुलाई भने बिगो हेरेर धेरैमा २१ लाखसम्म धरौटी माग भएको छ।
सबैभन्दा धेरै बेन्टलेका सञ्चालकलाई २१ लाख धरौटी माग भएको थियो। प्रहरीले गत कात्तिक १४ मा १० जना प्रबन्धकलाई पक्राउ गरेको थियो। सञ्चालकहरु भने फरार भएका थिए । सञ्चालकहरु पक्राउ नपरेसम्म प्रबन्धकहरु नछाड्ने प्रहरीले अडान लिएपछि सञ्चालकहरु प्रहरी समक्ष उपस्थित भएका थिए। उनीहरु आइतबार उपस्थित भएपछि प्रहरीले अदालतमा मुद्दा लगेको थियो।
प्रहरीले ‘वाच एन्ड सि’का राजेश्वर श्रेष्ठ, ‘तिरुपती लिबर्टी’का नन्द बिहानी, ‘लेवल्स स्टोर प्रालि’का जितेन्द्र महर्जन र सुवास महर्जन, ‘एडभेन्चर आउटडोर गियर कम्पनी’का रोशन ओडारी, ‘लाइफ स्टाइल इन्टरप्राइजेज’का रौनक शर्मा र श्रीकृष्ण महर्जन, ‘प्लेटिनम ट्रेड कन्र्सन’का प्रवीण झा र ‘बेन्टले द लेदर प्रालि’का तुलसीराम भण्डारीलाई पक्राउ गरेको थियो।
तत्कालीन आपूर्ति मन्त्री शिवकुमार मण्डलले गत भदौ १९ र २० मा दरवारमार्गका १३ वटा ठूला पसलमा वास्तविक मूल्यभन्दा धेरै गुणा महँगोमा सामान बिक्री गरेको भन्दै छापा मारी पसल शिल गरेका थिए।