
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सञ्चारमाध्यमले लोकतन्त्र, संघीयता, गणतन्त्रको संरक्षण तथा सम्बद्र्धन गर्न भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल पत्रकार महासंघले आसन्न मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको सन्दर्भमा आज आयोजना गरेको ‘आमसञ्चार र निर्वाचन” विषयको छलफल कार्यक्रममा उहाँले सञ्चारमाध्यमले लोकतन्त्र, संघीयता र गणतन्त्र स्थापना गर्न उल्लेखनीय भूमिका खेले जस्तै अब त्यसलाई संस्थागत गर्न पनि भूमिका खेल्नुपर्ने बताउनुभयो ।
उहाँले पेशागत आचारसंहिताभित्र रहेर स्वच्छ र स्वतन्त्र ढंगबाट निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्दै त्यस्तो वातावरण बनाउन पत्रकारहरूसँग आग्रहसमेत गर्नुभयो ।
प्रमुख आयुक्त यादवले पत्रकार महासंघका जिल्ला शाखालाई परिचालन गरेर निवार्चन शिक्षामा सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले सञ्चार जगत्ले पनि निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्माले निर्वाचनका क्रममा बालबालिका प्रयोग हुनाका साथै विद्यालयमा आमसभा गरिएको पाइएको बताउनुभयो । सूचना विभागका महानिर्देशक वीरबहादुर राईले निर्वाचनमा सबै पत्रकारलाई विशेष पास उपलब्ध गराउन सम्भव नरहेको हुँदा विभागले जारी गरेको परिचयपत्रका आधारमा सूचना सम्प्रेषणको वातावरण मिलाइएको जानकारी दिनुभयो ।