
- दीपक भट्ट
रामेछाप। मुख्य निर्वाचन कार्यालय रामेछापले दलहरुले निर्वाचन आचारसंहिता विपरित सदरमुकाम मन्थलीमा टाँगेका ब्यानर र पोष्टरहरु हटाएको छ । कार्यालयले पटक पटक राजनीतिक दलहरुलाई पोष्टर र ब्यानर हटाउन आग्रह गरेपनि दलहरुले कुनै तदारुक्ता नदेखाएपछि कार्यालय आफैले सम्पूर्ण पोष्टर र ब्यानर हटाएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले प्रहरीको सहयोग लिएर जिल्लाको बजार क्षेत्र र सार्वजनिक स्थलमा राजनीतिक दलले टाँगेका र टाँसेका निर्वाचन प्रचारप्रचारका सामग्री हटाएको जनाएको छ । सार्वजनिक स्थलमा टाँसिएका र टाँगिएका पोष्टर र ब्यानरहरु हटाउन राजनितिक दलका नेताहरुलाई पटक पटक मौखिक तथा लिखित रुपमा पत्राचार गर्दा समेत नहटाएकाले प्रहरी प्रशासनको सहयोग लिएर हटाउन शुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ ।
दलहरुले निर्वाचन प्रचारप्रसार भड्किलो मात्र नभई शहर र गाउँको सौन्दर्य नै सखाप पार्ने गरि पोष्टर टाँगेको भन्दै निर्वाचन आयोगको निर्देशन अनुसार प्रचार सामाग्री हटाइएको प्रहरीको भनाई छ ।
बुधबार अपरान्ह सदरमुकाम मन्थली र आसपासका सार्वजनिक स्थलहरुमा दलहरुले प्रयोग गरेको निर्वाचन प्रचारप्रसार सामाग्री हटाएको निर्वाचन आयोगले जिल्ला भरिनै यो अभियान चनाउने बताएको छ । त्यसैगरि दलहरुलाई समेत पुनः आचारसंहिता विपरित पोष्टर र ब्यानर नटांगन आग्रह गर्ने समेत जनाएको छ ।