मंगलबारे, इलाम, २९ कात्तिक : मेची राजमार्गमा पर्ने इलामको रोङ गाउँपालिका–१ कोल्बुङमा ट्रक दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
ना ४ ख ३६९ नम्बरको ट्रक मंगलबार साँझ दुर्घटनामा परी चालक इलाम नगरपालिका–४ बस्ने ४० वर्षीय भीम नेम्वाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । ट्रकमा नै रहेका इलाम नगरपालिका—१० गोदकका सिंहराज महत र सुनसरी जिल्ला दुहवीका करन ऋषिदेव घाइते हुनुभएको छ ।
उहाँहरुको झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । उहाँहरुको अवस्था सुधार उन्मुख रहेको बताइएको छ ।
झापाबाट इलामतर्फ रोलर बोकेर ल्याउँदै गरेको सो ट्रक सडकबाट करिब १५० मिटर तल खसेको बताइएको छ ।
मोटरसाइकल पल्टिँदा एकको मृत्यु
रत्ननगर, चितवन, २९ कात्तिक : पूर्वी चितवनको कालिका नगरपालिका–२ स्थित लंकालाइनमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।
आज बिहान करिब १ः३० बजेको समयमा तीनजना सवार ना ४६ प ९३४० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो ।
लंकालाइनबाट भरतपुरतर्फ जानेक्रममा भएको सो दुर्घटनामा परी मोटरसाइकल चालक रत्ननगर नगरपालिका–११ का ३१ वर्षीय विवेक दराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।
सो मोटरसाइकलको पछाडि बस्ने सोही ठाउँका २५ वर्षीय दुखिराम दराई र कालिका नगरपालिका–३ का ३१ वर्षीय अविनास महतो घाइते भएका छन् । उनीहरुको अहिले कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल, भरतपुरमा उपचार भइरहेको छ । उनीहरुले मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएको अनुमान प्रहरीले गरेको छ ।
(रासस)