२९ कार्तिक २०७४, बुधबार

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या पैसाकै लागि भएको प्रहरीले जनाएको छ । काठमाडौंमा गुन्डागर्दीमा संलग्न समीरमानसिंह बस्नेत नेतृत्वको समूहले मागेअनुसार पैसा नदिएपछि गोली हानेर गौचनको हत्या गरेको महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्दले बताए ।

हत्यामा संलग्न एक सुटरसहित पाँचजनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । गोली हान्नेमध्ये एक राजीव स्याङ्तान पक्राउ परेका छन् । नुवाकोटको पञ्चकन्या घर भएका २१ वर्षीय स्याङ्तानलाई पैसा दिएर गोली हान्न लगाइएको प्रहरीले जनाएको छ । ‘गौचनलाई सो समूहले पैसा माग्दै पटक–पटक धम्क्याएको अनुसन्धानमा खुलेको छ,’ छानबिन समितिका डिआइजी गणेश केसीले भने, ‘पैसा नदिएपछि नै उनको हत्या गरेको हाम्रो अहिलेसम्मको निष्कर्ष छ, तर अनुसन्धान अझै पूरा भइसकेको छैन ।’

सो घटनामा सहयोग गर्ने पर्साका शिवजी महतो, भारतीय नागरिक मुकेशकुमार पाण्डे, पर्साका सन्तोष गुरुङ र काठमाडौं नागार्जुनका प्रकाश बुढाथोकी पनि पक्राउ परेका छन् । उनीहरूमध्ये महतो मोटरसाइकल र हतियारको व्यवस्थापन गर्ने व्यक्ति हुन् । पाण्डेले भारतबाट चितवनसम्म ल्याएर सो समूहका एक व्यक्तिलाई हतियार दिएका थिए । गुरुङ मोटरसाइकल व्यवस्थापन तथा बुढाथोकी गौचनको गाडीमा ढुंगा हान्ने व्यक्ति भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सुटरले आफूलाई पैसा दिने आश्वासन दिएर गोली हान्न लगाइएको बताएका छन् । पक्राउ परेकामध्ये प्रकाश मात्र नाइकेहरूसँग प्रत्यक्ष सम्बन्ध भएका व्यक्ति हुन् ।

हत्याका योजनाकार सबै फरार
गौचन हत्याका योजनाकार सबै फरार छन् । छानबिन समितिका संयोजक केसीका अनुसार हत्याको प्रमुख योजनाकार समीरमानसिंह बस्नेत हुन् । उनले र लोप्साङ लामाले मिलेर हत्याको योजना बनाई गोप्य ढंगले सहयोगीहरू खटाएका थिए । गौचनको हत्या गरेपछि अरू ठेकेदारलाई धम्क्याएर पैसा असुल्ने नै उनीहरूको प्रमुख उद्देश्य देखिएको छ । हत्यालगत्तै लोप्साङले काठमाडौंका एसएसपी रवीन्द्र धानुकलाई फोन गरेर घटनाको जिम्मेवारी लिएका थिए । सोही समूहले त्यसपछि ठूला ठेकेदारहरूलाई धम्क्याएर पैसा मागेको थियो । मुख्य नाइके फरार नै रहेकाले उनीहरूले अब थप व्यवसायीलाई धम्क्याएर पैसा असुल्न सक्ने भन्दै प्रहरीले हुन्डी कारोबारीमाथि निगरानी सुरु गरिसकेको छ । हुन्डीमार्फत पैसा मगाउने गरेकाले प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।

घटनामा संलग्न र फरार व्यक्तिहरूको नाम प्रहरीले सार्वजनिक गरेको छ । जसमा समीरसहित मनोज पुन, लोप्साङ, बोका भन्ने गंगा लिम्बू, श्यामबहादुर गम्बे, कालेदाइ भन्ने अम्बरबहादुर रानामगर, रोशन बुढाथोकी र अजय थापा छन् । उनीहरू सबै विगतमा गुन्डागर्दीमा आबद्ध व्यक्ति हुन् । सबैजना भारतमा लुकेको प्रहरी आशंका छ । उनीहरूलाई पक्राउ गर्न तीन सातासम्म एउटा प्रहरी टोली भारतमा बसे पनि असफल भएर फर्किएको थियो ।

दुईजना सुटर
डिआइजी केसीका अनुसार गौचनलाई दुईजना व्यक्तिले फरक–फरक पेस्तोलबाट गोली हानेका थिए । राजीवसहित अम्बरबहादुर रानामगरले गोली हानेका थिए । राना भने फरार छन् । भगौडा आर्मी रहेका उनी पहिलेदेखि नै ‘वान्टेड’ व्यक्ति हुन् । त्यस्तै, प्रकाश बुढाथोकी र रोशन बुढाथोकी मुख्य योजनाकार बस्नेतका आफन्त र मुख्य सहयोगी हुन् । उनीहरूले नै गौचनको निगरानीलगायतको जिम्मा लिएका थिए । प्रहरीका अनुसार एक महिनादेखि उनीहरूले गौचनको निगरानी गरी उनी घरबाट निस्कने समय पत्ता लगाई गत २३ असोजमा हत्याको योजना बनाएका थिए ।

घटनास्थलमा ६ जना
गौचनलाई गोली हान्ने क्रममा ६ जना व्यक्ति घटनास्थलमा खटिएका थिए । दुईजना सुटर, दुईजना मोटरसाइकल चालक तथा अन्य दुईजना गाडीमा ढुंगाले हान्ने व्यक्ति हुन् । घटनास्थलमा सुटरहरू स्याङ्तान र मगरसहित प्रकाश बुढाथोकी, रोशन बुढाथोकी थिए । घटनामा तीनवटा मोटरसाइकल प्रयोग भएका थिए । जसमध्ये दुईवटा प्रहरीले बरामद गरिसकेको छ ।

भारतबाट चोरी गरी ल्याइयो मोटरसाइकल
विगतमा भएका हाइप्रोफाइल हत्याकाण्डमा जस्तै गौचन हत्यामा पनि चोरीकै मोटरसाइकल प्रयोग भएको थियो । हत्यामा प्रयोग भएको मोटरसाइकल भारतबाट चोरेर ल्याइएको थियो । भारतबाट चोरेर ल्याइएको साइन मोटरसाइकलमा नेपाली नम्बर प्लेट (बा.३५प २४६२) राखेर चलाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका शिवजी महतोले १८ हजार रुपैयाँमा चोरीको मोटरसाइकल खरिद गरी सो समूहलाई बिक्री गरेका थिए ।

६५ हजारमा दुईवटा पेस्तोल
घटनामा दुईवटा पेस्तोल प्रयोग भएको थियो, जुन भारतबाट शिवजी महतोले ल्याएर सो समूहलाई बिक्री गरेका थिए । ५५ हजार रुपैयाँमा किनेर आफूले ६५ हजारमा पेस्तोल बिक्री गरेको उनले बताएका छन् ।

हत्यामा लगाएको टिसर्टमै समातिए स्याङ्तान
हत्याको अनुसन्धानलगत्तै प्रहरीले आसपासका सिसिटिभी फुटेजलाई अनुसन्धानको प्रमुख आधार बनाएको थियो । जसमा मोटरसाइकलमा भागेका एक शंकास्पद व्यक्ति थिए । उनले दुईपटक हुलिया फेरे । जसका कारण उनीमाथि प्रहरीको शंका थप बढ्यो । टोपी र ज्याकेट लगाएका उनले एकपटक टोपी फाले भने अर्काेपटक ज्याकेट खोलेका थिए । प्रहरीले पिछा गर्ने डरले उनले दुई मिनेटमा दुईपटक हुलिया फेरेका थिए । हत्याको वेला उनले जुन टिसर्ट लगाएका थिए, पक्राउ पर्ने वेला पनि त्यही टिसर्ट लगाएका थिए ।

पैसाकै लागि हत्या भएको हो
डिआइजी गणेश केसी, संयोजक छानबिन समिति

यति ठूलो टिम लाग्दा पनि किन अपराधी पक्राउ गर्न पाँच साता लाग्यो ?
नेपालमा भएका संगठित अपराधको जुन सञ्जाल छ, त्यसमध्ये हामीले अनुसन्धान गरेको घटनामा सबैभन्दा ठूलो समूह थियो । संगठित अपराधको प्रकृति नै यस्तै हुन्छ, जसको अनुसन्धानमा लामो समय लाग्छ । प्रविधि सूचनालाई मिलाएर वस्तुगत आधारमा अनुसन्धान गर्नुपर्छ । यसलाई लामो समय लाग्यो भन्न नमिल्ला ।

पाँचजना पक्राउ परे, तर हत्या पछाडिको कारण धेरै खुल्न सकेन नि ?
हत्याको कारण एक्सटोर्सन नै हो, पैसा नै हो । उहाँलाई पटक–पटक फोन गरेर पैसा मागेको विभिन्न स्रोतबाट पुष्टि भएको छ । तर, दुःख र विडम्बनाको कुरा थ्रेटलाई सहेर उहाँले सुरक्षा निकायलाई जानकारी गराउनुभएन ।

धम्की त धेरै ठेकदारलाई आएको थियो, तर उहाँलाई नै निसाना बनाउनुको कारण ?
उहाँ निर्माण व्यवसायी महासंघको अध्यक्ष हुनुहुन्थ्यो । उनीहरूको उद्देश्य भनेको पैसा संकलन गर्ने नै देखिन्छ । अपराधीहरूले उनको हत्या गरेर अरूसँग पैसा माग्ने मनसाय बनाएको हुन सक्छ । त्यसपछि व्यवसायीलाई पटक–पटक धम्कीपूर्ण फोन आइरहेको भन्ने कुरा आएको छ ।

योजनाकारलाई किन पक्राउ गर्न सकिएन ?
हत्याका योजनाकारहरू लामो समयदेखि नेपालबाहिर रहेको भन्ने बुझिएको छ । विदेशबाट ल्याउन सुपुर्दगी सन्धिलगायतको समस्या छ । तर, एक दिन हामी पक्राउ गरेरै छाड्छौँ । अहिले त अनुसन्धानको सुरुवात मात्र हो । अनुसन्धान अन्तिमसम्म जारी रहन्छ ।

दुर्गा तिवारी हत्या तथा दावा लामामाथि गोली प्रहार घटनामा पनि यही समूहको संलग्नता हो ?
विगतका हत्यामा यिनै समूहका व्यक्तिहरूको संलग्नता देखिन्छ । कुनै कालखण्डमा उनीहरूले एकै समूहमा रहेर काम गरेका थिए । अहिले छुट्टाछुट्टै समूहमा छन् भन्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यो अनुसन्धानमा हामीले भोगेको कठिनाइ के हो ?
नेपाल प्रहरीमा जुन स्रोत, साधन र क्षमता छ, त्यो पर्याप्त भएन । प्रविधिगत चुनौती थपिँदै जान्छन् । त्यसकारण प्रविधिमा नेपाल प्रहरीको पहुँच बढाउनुपर्छ । प्रविधिमा हामीलाई साथ हुने हो भने नेपाल प्रहरीले यस्ता घटनाको सहजै अनुसन्धान गरी अपराधीलाई पक्राउ गर्न सक्छ । नयाँ पत्रिकाबाट

LIVE TV