
बाजुरा । निर्वाचनको माहोलले सिंगो मुलुक तताएको छ । तर, हिमाली जिल्लाका आफ्नै कठिनाई छन् । मौसमका कारण कतिपय हिमाली जिल्लाका मतदाता मताधिकार प्रयोग गर्न नसक्ने मनस्थितिमा पुगेका छन् । बाजुराका हिमाली क्षेत्रमा बसोबास गर्ने स्थानीय बेसी झर्न थालेका छन् । उनीहरु मतदानकै लागि नफर्किने मनस्थितिमा देखिएका छन् ।
बाजुरामा यतिवेला राजनीतिक दल र उम्मेद्वारहरु निर्वाचन अभियानमा जुटेका छन् । उनीहरुलाई घरदैलो भ्याइ न भ्याइ छ । जिल्लाका हिमाली क्षेत्रमा बसोबास गर्ने स्थानीय किसान चिसो बढ्दै गएपछि बेसी झर्न थालेका छन् । यो उनीहरुको बाध्यता पनि हो । अधिकांश स्थानीय भेडा पाल्दै आएका छन् ।
उनीहरुको मूख्य पेशा नै भेडा पालन हो । भेडा चिसोमा पाल्न नसकिने भएपछि बेसी झर्नुपर्ने आफूहरुको बाध्यउता रहेको उनीहरु बताउँछन् । बेसी झरेपछि पुनः मतदानकै लागि भने गाउँ फर्किन नसकिने उनीहरुको भनाई छ । स्वामीकार्तिक गाउँपालिका र बुढिनन्दा नगरपालिका क्षेत्रमा बसोबास गर्ने जनजाती आफ्ना भेडा बाख्रा र घरपरिवार संगै बेसी झरेका छन् । जाडो सुरु भएसँगै भेडापालक किसान अछाम, डोटीका बेसी तर्फ झर्ने गर्दछन् ।
स्थानीय तहको निर्वाचनमा ८१ प्रतिशत मतदान भएको बाजुरामा यस पटक कम मत खस्ने अनुमान गरिएको छ । मौसम अनुकुलता नहेर्दा आफूहरु मतदानबाट बञ्चित हुनुपरेको उनीहरुको तर्क छ ।
प्रतिनिधिसभाको एक क्षेत्र रहेको बाजुरामा दुई प्रादेशिक क्षेत्र रहेको छ । जिल्लामा ६९ हजार आठ सय ३४ ले मतदाता रहेका छन् । ६९ मतदानस्थल र एक सय मतदान केन्द्रहरुको ब्यवस्था गरिएको छ । उम्मेदवारहरु समेत घरदैलोमा जाँदै गर्दा स्वामीकार्तिक र बुढीनन्दा गाउँपालिकामा पुग्न सकेका मात्र छैनन्, मतदाता समेत बेसी झर्न थालेका छन् ।
मौसम प्रतिकुल हुने समयमा निर्वाचन तोकिएको भन्दै कतिपय स्थानीयले आक्रोश समेत पोख्ने गरेका छन् । हिमाली जिल्लाहरुमा मौसम अनुकुलता हेर्नुपर्ने उनीहरुको माग रहँदै आएको छ । ऐतिहासिक निर्वाचनमा भाग लिन कठिनाई हँुदाको पीडा फरक रहेको छ, बाजुराका हिमाली क्षेत्रका बासिन्दालाई ।