२८ कार्तिक २०७४, मंगलवार

बर्दिया । यतिवेला मुलुक नै निर्वाचनमय बनेको छ । प्रतिष्पर्धाको मैदानमा उत्रिएका राजनीतिक दल र उम्मेद्वारहरु मतदाताको घर–घरमा पुग्न थालेका छन् । तर, आम मतदाताको एउटै माग छ, विकास देउ । बर्दिया पनि निर्वाचनको रौनकको रापमा छ । तर, आम मतदाता आश्वासन होइन विकासको लहर चाहन्छन् । हरेक निर्वाचनमा ठूला–ठूला सपना देखाउने राजनीतिक दलहरु र तिनका उम्मेद्वार निर्वाचन पछि मुख देखाउन नआउनेसम्मको पीडा सुनाउँछन् । उनीहरु विकास खोइ भन्दै मत माग्न आउनेसँग प्रश्न गर्छन् ।

बर्दिया विकासको आझेलमा परेको एउटा जिल्ला हो । छिमेकी जिल्ला पूर्वको बाँके र पश्चिमको कैलालीको मध्यभागमा रहेको बर्दियामा विकास हुन नसक्दाको पीडा मतदाताले राम्रैसँग पोख्ने गरेका छन् । सधै आश्वासनको पोखा बाँड्न उद्दत नेताहरुभन्दा साच्चै विकासको मूल फुटाउन सक्ने प्रतिनिधि आवश्यक रहेको उनीहरुको तर्क छ ।

विगतका वर्षहरुका नियतिलाई झल्झलि सम्झने बर्दियाबासी यसपटक पुरानै नियति नदोहो¥याउने पक्षमा देखिन्छन् । उनीहरुको एक सुत्रिय माग छ, बर्दियामा विकास । २०४८ साल यता कांग्रेस, एमाले, माओवादीले सम्म निर्वाचन जितेका छन् । यसपटक पनि प्रतिष्पर्धामा यीनै दलहरु देखिएका छन् । दुई वटा निर्वाचन क्षेत्र रहेको बर्दियामा क्षेत्र नम्बर १ मा वामगठबन्धनबाट एमालेका उपाध्यक्ष वामदेव गौतम र कांग्रेसबाट सञ्जय गौतम प्रतिष्पर्धामा उत्रिएका छन् । मतदाताले पुरानो हिसाव मात्र खोजेका छैनन् यसपटक विकासको पूर्ण प्रतिवद्धता समेत मागेका छन् ।

बर्दियाको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट गोपाल दहित र वामगठबन्धनबाट माओवादी केन्द्र सन्तकुमार थारु उम्मेदवार रहेका छन् । उद्योग बाणिज्य सँघ बर्दियाका अध्यक्ष बिरु बहादुर थारुले आश्वासन बाँड्ने उम्मेद्वार आफूहरुलाई नचाहिने बताए ।

विकासको नारा सहित ठूला ठूला सपना बाँड्ने दलहरुबाट दिक्क बनेका बर्दियाबासीलाई विश्वास दिलाउन पनि अब दलहरुले इमान्दारिता देखाउँनै पर्छ । अन्यथा अर्को निर्वाचनमा हिसाव किताव पक्कै खोज्ने छन्, बर्दियाबासीले ।

LIVE TV