
संखुवासभा/ भोजपुर/ म्याग्दी । निर्वाचन नजिकिदै जाँदा मुलुकका विभिन्नस्थानमा उम्मेद्वारलाई लक्षित गरि आक्रमणको प्रयास भएको छ । संखुवासभा, भोजपुर र म्याग्दीमा चुनावी प्रचारप्रसारलाई लक्षित गरि आक्रमणका प्रयास भएका हुन् ।
चुनावी प्रचारप्रसारमा हिडेका उम्मेद्वारहरुलाई लक्षित गरि गुडिरहेको सवारी साधनमा आक्रमण गर्दा एक जना सुरक्षाकर्मी घाइते भएका छन् । मंगलवार बिहान भोजपुरको सिमानामा रहेको पिखुवा खोलामा बम विस्फोट भएको छ । बम विस्फोटमा परेर भोजपुर प्रदेश सभाका लागि बामगठबन्धनका उम्मेदवार शेरधर राईका अंगरक्षक प्रहरी सहायक निरीक्षक डिल्ली देवकोटा घाइते भएका छन् । भोजपुरको गोगनेको आमसभाको क्रममा जाँदै गर्दा उम्मेद्वार राईलाई लक्षित गरेर बम प्रहार भएको प्रहरीले जनाएको छ ।
यो आक्रमणमा विप्लव निकट नेकपाका कार्यकर्ताको संलग्नता रहेको अनुमान प्रहरीले गरेको छ । यता संखुवासभामा बाम गठबन्धनका उम्मेद्वारमाथि गोली प्रहार गरिएको छ । सङ्खुवासभाको बाह्रविसेमा आयोजित आमसभालाई सम्बोधन गर्न हिडेका उम्मेद्वारहरुको गाडीलाई लक्षित गरि धुपु गाँउपालिकाको देउरालीमा गोली प्रहार गरिएको हो । गोली प्रहार भएपनि गाडीमा कुनै क्षति नपुगेको र उम्मेद्वारहरु सकुशल रहेको नेकपा एमाले सङ्खुवासभाका सचिव खड्गबहादुर राईले जानकारी दिनुभयो ।
सो गाडीमा प्रतिनिधि सभाका उमेदवार राजेन्द्र गौतम, प्रदेशसभा (१) का उमेदवार पूर्णप्रसाद राई, समानुपातिक उमेदवार ईन्दीरा मिश्र लगायतका नेताहरु सवार थिए । त्यसैगरि म्याग्दीको बेनी नगरपालिका–१ अर्जममा मंगलबार दिउँसो नेपाली कांग्रेसको चुनावी प्रचार टोलीलाई लक्षित गरी प्रेसर कुकर बम विष्फोट गरिएको छ ।
चुनावी आमसभाका लागि जाँदै गरेको कांग्रेसका प्रतिनिधिसभा सदस्य एवम् कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा नेतृत्वको टोलीलाई लक्षित गरी माइन बम विष्फोट गराइएको हो । योजनाबद्ध तरिकाले निकै माथिबाट तार ल्याएर विष्फोट गराइएको देखिएको नेपाली कांग्रेस म्याग्दीका यूवा नेता सुमन श्रेष्ठले बताउनुभयो । यसअघि रोल्पामा माओवादी नेता वर्षमान पुन र रुकुममा जनार्दन शर्मालाई पनि लक्षित गरी बम आक्रमण भएको थियो ।