
नेपाली काँग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का उम्मेदवार रामचन्द्र पौडेलले तनहुँ जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर स्थानीय बासिन्दालाई दिलाउने वचन दिनुभएको छ ।
चुनावी प्रचार प्रसारको अभियानअन्तर्गत आज तनहुँको व्यास नगरपालिका–७ स्थित पोखरीछापमा आयोजित कोणसभामा नेता पौडेलले तनहुँ जल विद्युत् आयोजनाको १० प्रतिशत शेयर स्थानीय बासिन्दालाई दिलाउने बताउनुभयो ।
सो आयोजना काँग्रेस कै पहलमा आएको र त्यसलाई अगाडि बढाउने जिम्मेवारी आफ्नै काँधमा आएको उहाँको भनाइ थियो ।
झुट र भ्रमको खेती गर्ने कम्प्यूनिष्टको विश्वास गर्न नसकिने पनि उहाँले बताउनुभयो ।
कृषि, जलस्रोत र पर्यटनको विकासमा जोड दिँदै उहाँले आर्थिक समृद्धि बिना देश अगाडि बढ्न नसक्ने बताउनुभयो । कार्यक्रममा समानुपातिकका उम्मेदवार लक्ष्मी आचार्य, सरिता गुरुङ, पूर्व सांसद रामचन्द्र पोख्रेल, काँग्रेस नेता समुन्द्र गोदार लगायतकाले लोकतान्त्रिक शक्तिले जिते मात्रै देशको विकास हुने बताउनुभएको थियो ।