२८ कार्तिक २०७४, मंगलवार

पछिल्ला वर्षहरुमा मधुमेह हुनेको संख्यामा बृद्धि हुँदै गएको छ । अझ मधुमेहको समस्याले आँखामा समेत समस्या पार्ने गरेको तर्फ खासै कसैको ध्यान पुगेको देखिदैन । डायवेटिक रेटिनेप्याथी मधुमेहको जटिलता मध्ये एक प्रमुख अवस्थामा रहेको रोग हो । अहिले देशमा नौ लाखभन्दा बढी मानिसमा मधुमेह भएको अनुमान छ । त्यस मध्ये ३८ दशमलव ५ प्रतिशतमा आँखा समस्या हुने गरेको पाइएको छ ।

मधुमेह मानिसको शरीरमा इन्सुलिनको अभाव वा यसको कार्यक्षमतामा आएको कमीको कारण उत्पन्न हुने निको नहुने रोग हो । इन्सुलिन वा औषधिका उपचारमा रहँदा वा रगतमा ग्लुकोजको मात्रा ठीक भइसकेपछि पनि पथपरहेजमा निरन्तरता जरुरी हुन्छ । अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार संसारभरि १ सय ९९ लाख महिला मधुमेहबाट ग्रसित रहेको तथ्यांक छ । धेरै तिर्खा लाग्नु, धेरै भोक लाग्नु, पटक–पटक पिसाब लाग्नु, थकान हुनु, तौल घट्नु, रिंगटा लाग्नु मधुमेहका प्रमुख लक्षणहरु हुन् । तिलगंगा आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डाक्टर रबा थापा मधुमेहले शरीरका अन्य अंगमा असर पारेजस्तै आँखामा पनि असर पार्ने बताउँछिन् ।

तर मधुमेहले आँखाको पर्दामा असर गरेपनि यसको लक्षण तत्कालै नदेखिने उनको भनाई छ । मधुमेहले आँखाको पर्दाका रक्तकोशिकाहरुमा असर गरी पर्दाको रक्तसञ्चारमा प्रभाव पार्दछ जसले गर्दा पर्दाको दृष्टि केन्द्रमा सुजन तथा रक्तश्राव हुनगई दृष्टि कमजोर हुन जान्छ ।

मधुमेहका कारण ३८ दशमलव ५ प्रतिशत बिरामीको आँखामा असर पर्ने देखिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ । मधुमेह भएको करिब दुई तिहाइ बिरामीको आँखाको पर्दा अर्थात् रेटिनामा असर परिसक्ने डा थापा बताउँछिन । मधुमेहबाट समस्याग्रस्त बनेकाले आँखा जाँच नियमित गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।

 

 

 

LIVE TV