२८ कार्तिक २०७४, मंगलवार

म्याग्दी । म्याग्दी जिल्लाको बेनी नगरपालिका(१ अर्जममा नेपाली कांग्रेसको चुनावी प्रचार टोलीलाई लक्षित गरी माइन बम बिस्फोट गराइएको छ। बम बिस्फोट हुँदा गाडीमा सामान्य क्षति पुगेको छ। विस्फोटमा कुनै पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

बम विस्फोटले सवारी साधनका सिसा फुटेको प्रचार टोलीमा सहभागी तरुण दलका सदस्य सुमन श्रेष्ठले जानकारी गराए । बिहान रत्नेचौरमा चुनावी सभा सम्पन्न गरेर अर्जम क्षेत्रमा घरदैलोका लागि जाँदै गरेको कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा नेतृत्वको टोलीलाई लक्षित गरी बम बिस्फोट गराइएको हो।

‘एक मिनेट ढिला बिस्फोट भएको भए ठुलो मानवीय क्षति हुने र संयोगबस आफुहरु बचेको श्रेष्ठले बताएका छन् । निकै टाढाबाट तार ल्याएर विस्फोट गराइएको जानकारी पनि उनले गराए । प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले घटनामा कुनै किसिमको क्षति नभएको जानकारी दिइन्।

उनका अनुसार रत्नेचौरमा प्रहरी युनिट र भकुण्डेमा सशस्त्र प्रहरी क्याम्प रहेकोले घटना लगत्तै सुरक्षा जनशक्ति बढाएको उनले बताइन् । कुन समूहले बिस्फोट गरायो भन्ने विषय नखुलेको बताइएको छ ।

चुनाव प्रचार टोलीमा गर्बुजासहित लोकतान्त्रिक मोर्चाबाट प्रदेश ‘क’ का उम्मेदवार भीमप्रसाद गौचन, बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ र उपमेयर सञ्जु बरुवाल लगायत सहभागि थिए।

LIVE TV